कोरोना रोकथाममा स्वास्थ्य क्षेत्रको पूर्वाधारमा उल्लेख्य वृद्धि र सुधारः प्रधानमन्त्री

आश्विन ०३,२०७७

-

असोज ३,२०७७ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताएका छन् । शनिबार स‌ंविधान दिवसका अवसरमा सै‌निक मञ्‍चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण हुनुपूर्व नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै अहिले त्यसमा उल्लेख्य वृद्धि र सुधार गरिएको बताए । 
 
पहिलो संक्रमितको पहिचान गर्न स्वाबको नमुना विदेश पठाउनु परे पनि अहिले सरकारी र निजी गरी ४७ वटा प्रयोगशालामा कोरोना परीक्षण हुने प्रधानमन्त्री ओलीले बताए । पछिल्लो समय दैनिक करिब २३ हजार नमुना परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको उनले बताए । 
 
सुरुमा एउटा नमुना परीक्षण गर्न ८ हजार ५ सय रुपैयाँसम्म लाग्ने गरे पनि अहिले २ हजार रुपैयाँमा कोरोना परीक्षण हुने उनले बताए ।
 
त्यसैगरी कोरोना महामारीका कारण सरकारले गौरवका आयोजनाहरु पूरा गर्न नसकेको उनले बताए । कोरोना महामारी भए पनि विश्वका अधिकांश देशमा जस्तो नेपालमा आर्थिक असर नपरेको पनि प्रधानमन्त्री ओलीले बताए । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष रेमिट्यान्स भित्रिएको पनि उनले उल्लेख गरे ।