स्वास्थ्य सुधारको माग गर्दै बीपीका चिकित्सक आन्दोलित

आश्विन १२,२०७७

-

असोज १२,२०७७ काठमाडौं ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा सुधारको माग गर्दै सिनियर चिकित्सक आन्दोलित भएका छन् । प्रतिष्ठान सुधारमा चारजना पदाधिकारीको भूमिका शून्य रहेको भन्दै प्रतिष्ठानको नेतृत्व सही ढंगले संचालन गर्न माग गर्दै चिकित्सकले धर्ना कार्यक्रम सुरु गरेका हुन् । 
 
विभिन्न १९ सुत्रीय माग राखेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानको सबै विभागका सिनियर चिकित्सकहरु आन्दोलित भएरपछि प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । 
 
आन्दोलनमा उत्रिएका चिकित्सकले प्रतिष्ठान सुधार गर्नुपर्ने, स्वास्थ्य विमा गर्नुपर्ने, कोरोना माहामारीमा खटिएका चिकित्सकलाई स्वास्थ्य सामग्री दिनुपर्ने, संकटमा पुगेको प्रतिष्ठानको आर्थिक अवस्था सुधार गर्नुपर्ने, प्रतिष्ठानमा आवश्यक औषधि उपकरण खरिद गर्दा भएको आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा गर्नुपर्ने र अवरुद्ध भएको बढुवा प्रक्रिया अगाडि बढाउनुपर्नेलगायतका माग राखेर दैनिक धर्ना कार्यक्रम सुरु गरेका छन् । 
 
माग तत्काल सम्बोधन नगरे प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सकले चेतावनी दिएका छन् । प्रतिष्ठानको मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका दर्जनौं चिकित्सकले सोमबार प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना दिएका छन् । 
 
प्रतिष्ठानले चिकित्सकलाई वृद्धि भएको तलब नदिएको, अडाइ वर्षदेखि बढुवा प्रक्रिया रोकिएको र प्रतिष्ठानमा आर्थिक अनियमितताका घटना सार्वजनिक हुन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको अध्यक्ष पोखरेलले बताए । 
 
चिकित्सकको बढुवा प्रक्रिया रोकिएका कारण कतिपय विभाग प्रोफेसरबिहीन भएका कारण एमडि एमएसको सिट संख्यामा समेत समस्या भएको उनको भनाइ छ ।