अमेरिकी राष्ट्रपति ट्रम्प र श्रीमती मेलानियालाई कोरोना संक्रमण
-
असोज १६,२०७७ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् ।
कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् ।
बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिए ।
ह्वाइट हाउसमा रहेको चिकित्सकको विशेष टोलीको प्रत्यक्ष निगरानीमा राष्ट्रपति र प्रथम महिला रहने पनि उनले बताए ।
राष्ट्रपति ट्रम्पले बिहीबार बेलुका नै आफ्ना नजिकका सहयोगीलाई कोरोना भएपछि क्वारेन्टाइनमा बस्ने योजना सुनाएका थिए ।
राष्ट्रपति ट्रम्पको क्वारेन्टाइन बसाइ कति लामो हुन्छ भन्नेबारेमा भने केही जानकारी दिइएको छैन । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को गाइडलाइनअनुसार कोरोना पुष्टि भएका व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । कोरोना भाइरसको इन्क्युबेसनु अवधि दुई हप्तासम्म हुने भन्दै १४ दिनको क्वारेन्टाइन अवधि तोकिएको हो ।
पछिल्लो समय राष्ट्रपति ट्रम्प चुनावी अभियानका क्रममा अमेरिकाका विभिन्न राज्य पुगेका थिए । बुधबार मात्रै उनले राष्ट्रपतीय निर्वाचनका लागि प्रतिद्वन्द्वी जो बाइडेनसँग चुनावी बहसमा सहभागी भएका थिए । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ ।
कोरोना संक्रमण पुष्टि भएपछि अक्टोबर १५ का लागि तय भएको दोस्रो प्रेजिडेन्सियल डिबेट कसरी सञ्चालन हुन्छ भन्ने सबैको चासो रहेको छ ।