Trending :
 

प्रिमियर लिगः एभर्टनले ब्राइटनलाई हरायो

आश्विन १८,२०७७

-

असोज १८, २०७७ काठमाडौं ।
 
डोमिनिक काल्भर्ट लेविनले सिजनको नवौँ गोल तथा हामेज रोड्रिग्वेजले दुई गोल गरेपछि एभर्टनले ब्राइटनलाई हराउँदै प्रिमियर लिगको नयाँ सिजनमा शत प्रतिशत नतिजा कायम राखेको छ ।
 
खेलको १६ औँ मिनेटमा काल्भर्ट लेविनले एभर्टनलाई अग्रता दिलाएका थिए । तर, ४१ औँ मिनेटमा गोलकिपर जोर्डन पिक्फर्डको गल्तीको फाइदा उठाउँदै निल माउपेले बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा येरी मिनाले गोल गर्दै पुनः एभर्टनलाई अग्रता दिलाए ।
 
दोस्रो हाफमा रोड्रिग्वेजले दुई गोल थप्दै एभर्टनको जीत सुनिश्चित गरे । खेलको इन्जुरी समयमा यभेस बिसुमाले उत्कृष्ट गोल गरेपनि त्यो ब्राइटनका लागि सान्तवना गोलमात्र बन्न पुग्यो ।
 
एभर्टनले प्रिमियर लिगको शुरुवाती चार खेल जितेको सन् १९६९–७० सिजनपछि पहिलो पटक हो । त्यतिबेला एभर्टनले लिग उपाधि जितेको थियो ।
 
शनिबार नै भएको खेलमा उपाधि दाबेदार चेल्सीले क्रिस्टल प्यालेसमाथि गोल वर्षा गरेको छ । चेल्सी ४-० गोलअन्तरले विजयी बनेको हो ।
 
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चेल्सीले गोलको वर्षा गरेको थियो । चेल्सीको जीतमा जोर्गिन्होले पेनाल्टीबाट दुई तथा बेन चिल्वेल र कर्ट जुमाले एक-एक गोल गरे ।