कोरोनाले उत्पादन घट्दै जाँदा भोकमरी लाग्न सक्ने विज्ञहरुको चिन्ता

आश्विन २४,२०७७

-

असोज २४,२०७७ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) ले कृषि क्षेत्र धराशायी भएको छ। कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ। जसले गर्दा भोकमरी लाग्न सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। 
 
नेपाल कृषिप्रधान देश भए तापनि कृषिमा आत्मर्निभर हुन सकेको छैन। उत्पादन घट्दै जाँदा कृषि क्षेत्रमै परनिर्भरता बढ्दै गएको छ। ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भए पनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको योगदान बढ्न सकेको छैन। नेपालले वर्षेनी २ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ।
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ। सम्मेलनमा कृषिसँग सम्बन्धित आधा दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत भए। डा. जगदिस तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताए। 
 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले बेरोजगारीको दर बढाएको छ। भारत, मलेसिया तथा खाडी मुलुकबाट रोजगारी गुमाएर फर्केने क्रम बढेको छ। स्वदेशमै रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ। 
 
राष्ट्रिय योजना आयोगको पूर्व सदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताइन्। कृषिमा प्रशस्त संभावना भए पनि उत्पादनमा जान नसकिएको उनको भनाइ छ। नेपालमा धेरै संभावना भए पनि धेरै खाद्यवस्तु आयात गर्नु दुःखद भएको उनको भनाइ छ। कोभिडले समग्र अर्थतन्त्रमा असर पारिरहेको अवस्थामा कृषि क्षेत्रमा पनि समस्या सिर्जना गरेको उनको भनाइ छ।