४० औं विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाइने

आश्विन २५,२०७७

-

असोज २५, २०७७ काठमाडौं ।
‘हाम्रो पहलः दिगो कृषि, पोसिलो आहार’ नाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । 
 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा आजदेखि सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ। आज कृषि प्रविधि र प्रयोग, रैथाने खाना, पर्यटन लगायतका विषयमा अन्तर्क्रिया हुनेछ । त्यस्तै भोलि कोरोना, खाना र खेतीबालीको विषयमा छलफल हुने भएको छ । 
 
कृषिका मुद्धा बिहीबार खाना र खेतीबालीः ग्रामिण महिला किसानको योगदान र जैविक विविधता,पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तर्क्रिया हुने कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी दिनुभयो ।
 
विभागका महानिर्देशक गोविन्द प्रसाद शर्माले रैथाने खाना र खेतीबाली जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १ सय ९३ देशले आउँदो १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
 
त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १ सय ९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको र जलवायु परिवर्तनको असर घटाउँदै सन् २०३० सम्ममा शून्य भोक बनाउन प्रतिबद्धता जनाएका थिए ।