सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्नेमा मुख्यमन्त्रीको जोड

आश्विन २५,२०७७



असोज २५, २०७७ काठमाडौं ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।  जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौँडामा सम्बोधन गर्दै उनले सङ्घीयताको सफल कार्यान्वयनबाट  मात्र लोकतन्त्र बलियो हुने बताए । 
 
उनले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्न र  जनतालाई प्रत्यक्ष लाभ पुग्ने  पूर्वाधार तयार गर्न आग्रह गरे ।  मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन  गर्न स्थानीय निकायलाई निर्देशन दिए । उनले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो सीमित स्रोत साधन परिचालन गर्ने उल्लेख गरे ।
 
सो अवसरमा प्रदेशसभाका सदस्यद्वय प्रेमबहादुर पुलामी र सन्तबहादुर प्रजाले विपन्न जनताको आयआर्जन हुने कार्यक्रम बनाउन जोड दिए । उनीहरुले पूर्वाधारका योजनालाई निश्चित समयमा सम्पन्न गर्नेतर्फ स्थानीय जनप्रतिनिधिको भूमिक सशक्त हुनुपर्ने बताए ।
 
जिसस प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीले योजनाको सफल कार्यान्वयनबाट मात्र जनताको समृद्धि हुने विचार व्यक्त गरे । राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले कोमिड–१९ सङ्क्रमणको जोखिमबाट जनतालाई जोगाउन स्थानीय जनप्रतिनिधि भूमिक अहं रहने बताए ।
 
सो अवसरमा कोरोना  जोखिम हुन नदिन उल्लेखनीय योगदान वापत विभिन्न सङ्घसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।  प्रशंसापत्र पाउनेमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्य निरीक्षक भोला चौँलागाई, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रविण श्रेष्ठ, स्थानीय समाजसेवी नारायण थिङ, उद्यमी ऋषिराम घिमिरे, यातायात व्यवसायी बद्रीप्रसाद चौलागाईँ र श्री कृष्ण प्रणामी सेवा समितिको तर्फबाट केदार चौलागाइँलगायत थिए ।  समीक्षा बैठकमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहित  आठ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको छ ।