दशै बिदा कात्तिक एक गतेदेखी नै दिन सुझाव

आश्विन २८,२०७७

-

असोज २८, २०७७ काठमाडौं ।
 
कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् ।
 
सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड-१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दसैं बिदा लम्ब्याउन सुझाव दिएका हुन् ।
 
‘दसैंमा घटस्थापनादेखि बिदा दिने भन्नेबारे छलफल हुँदै छ । सुझाव आएका छन् । कुनै निर्णय भइसकेको छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘संक्रमणलाई रोक्न त्यो पनि एउटा विकल्प छ ।’
 
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज २५ गते मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखापरेको बताएका थिए । 
 
उनले उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकाले व्यवस्थापनमा समस्या पर्न थालेको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर कमी नगर्न आग्रह गरेका थिए । उनले यसअघि नै यसपटकको दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन पनि आग्रह गरिसकेका छन् । 
 
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको असोज २६ गते बसेको बैठकमा सांसदहरूले काठमाडौंको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सिल गर्नुपर्ने सुझाएका छन् । कान्तिपुर