बहराइनका राजकुमार खलिफाद्धारा मनास्लु हिमालको सफल आरोहण

आश्विन २९,२०७७



असोज २९,२०७७ काठमाडौं ।
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।
 
बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा शिखरमा पुगेको सेभेन समिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ पुर्खा शेर्पाले जानकारी दिए ।
 
मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ । 
 
तिनमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने मिङ्मा शेर्पा र छाङदावा शेर्पा, अक्सिजनबिनै सगरमाथा चढ्ने कान्छा आरोही टासीलाक्पा शेर्पा, २४ पटक सगरमाथा चढेर कीर्तिमान बनाएका कामीरिता शेर्पा पनि थिए ।
 
सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो । यसअघि असोज १७ गते राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेको थियो ।