कर्णालीका असन्तुष्ट नेताहरुले नेकपाका शीर्ष नेतृत्वसँग छलफल गर्दै

आश्विन २९,२०७७

-

असोज २९,२०७७ काठमाडौं ।
 
मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका नेकपा कर्णाली प्रदेशका सांसदहरुले शीर्ष नेतृत्वसँग छलफल गर्दैछन् ।
 
मुख्यमन्त्री एवम संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न लागेका हुन् ।
 
अविश्वासको प्रस्ताव यथावत राखेर छलफलका लागि नेतृत्वले काठमाडौं बोलाएका पार्टीका कर्णाली प्रदेशसभाका सांसदहरुसँग आज विवाद समाधानका लागि छलफल हुन लागेको हो ।
 
मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जनामध्ये मुख्य नेताहरु अध्यक्ष ओली र दाहालसँग छलफलका लागि काठमाडौँ आइसकेका छन् ।
 
गत निर्धारण गरिएको संसदीय दलको बैठकबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरत गरिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले साथ नदिएपछि बैठक स्थगित भएको थियो ।
 
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये एक जनालाई मुख्यमन्त्री शाहीले त्यसैदिन दलको सचेतकमा नियुक्त गरेका थिए ।
 
केन्द्रबाट ओली र दाहालले मुख्यमन्त्री शाहीसँगै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेताहरुलाई कर्णाली प्रदेशमा उत्पन्न समस्याले आफूहरु गम्भीर भएको भन्दै समस्या समाधानका लागि पार्टी केन्द्रीय कार्यालयमा दुई दिन भित्र उपस्थित हुन निर्देशन दिएका थिए ।
 
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार मात्रै नभई पार्टीकोसमेत बदनाम हुनेगरी काम गरेको भन्दै उनको विकल्पका लागि अविश्वासको प्रस्ताव दर्ता गरेको असन्तुष्टहरुको दावी छ ।