नवरात्रमा देशभरका मठमन्दिर एवं शक्तिपीठ नखोल्न गृह मन्त्रालयको निर्देशन

आश्विन ३०,२०७७

-

असोज ३०,२०७७ काठमाडौं ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।
 
बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।
 
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको जानकारी दिए ।
 
असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले आफूहरुले शक्तिपीठ खोल्नेबारेमा गरेको प्रस्तावमा अहिलेसम्म कुनै जवाफ नआएको बताए । सो प्रस्तावमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी देवालयहरू खोल्न आग्रह गरिएको थियो ।
 
त्यस्तै, २१ असोजमा ओलाङ्चुङ्गोला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पनि कात्तिक १ गतेदेखि शक्तिपीठ खोल्ने तयारी भइरहेको बताएका थिए ।
 
तर मन्त्रालयको प्रस्तावमा सीसीएमसीले कुनै निर्णय गरेको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रालयमा सो प्रस्ताव पठाउनु पर्नेमा सीसीएमसीले निर्णय नै गरेको छैन ।
 
गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्को निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिएको बुढाले जानकारी दिए ।