शक्तिपीठहरुमा पुजारीले मात्रै नित्य पूजा गर्ने, भक्तजनको दर्शनका लागि खुला नहुने

कार्तिक ०१,२०७७

-

कात्तिक १,२०७७ काठमाडौं ।
नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ ।
 
काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो ।
 
पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।
 
उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गर्छ ।
 
यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ । कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ ।
 
गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ ।
 
आम मानिसलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन मन्त्रालयले यस्तो आह्वान गरेको हो ।
 
नवरात्रको पहिलो दिन आज दशैँ घर एवं पूजा कोठामा घटस्थापना सहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिनसम्म नौ वटी देवीको विशेष आराधना गरिन्छ ।