आईपीएलमा पन्जाबको नयाँ रेकर्डः कडा टक्करकाबीच मुम्बई पराजित

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीचको खेल निकै रोमान्चक रह्यो । गएरातिको खेल दुई पटकसम्म बराबरी भयो । कडा टक्करकाबीच अन्ततः पन्जाबले मुम्बईलाई हराउन सफल भयो । यस जितसँगै पन्जाब अंक तालिकामा छैटौं नम्बरमा पुगेको छ ।
 
आइतबार राति दुबईमा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पन्जाबले जितका लागि १ सय ७७ रनको लक्ष्य पायो । पन्जाबले पनि कप्तान केएल राहुलको ७७ रन मद्दतमा, ६ विकेटकै क्षतिमा १७६ रन बनायो ।
 
खेल बराबरी भएपछि नतिजाका लागि सुपर ओभरमा गयो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले पाँच रन बनायो र मुम्बईले पनि समान पाँच रन नै बनायो । पहिलो सुपर ओभर पनि टाई भएपछि खेल दोस्रो सुपर ओभरमा धकेलियो ।
 
दोस्रो सुपर ओभरमा मुम्बईको मोर्चा केरोन पोलार्ड र हार्दिक पाण्ड्याले सम्हाले । मुम्बईले ११ रन बनायो । पाचौं बलमा अम्पायरले पोलार्ड आउट भएको संकेत गरेका थिए तर रिभ्यू गरेर हेर्दा अम्पायरको निर्णय बदल्नुपरेको थियो ।
 
पन्जाबले जितका लागि एक ओभरमा १२ रन बनाउनु पर्ने भयो । ट्रेन्ट बोल्टको पहिलो बलमा क्रिस गेलले छक्का प्रहार गरे । दोस्रो बलमा गेलले एक रन बटुले । तेस्रो र चौथो बलमा मयंक अग्रवालले चौका प्रहार गरेर पन्जाबलाई जित दिलाए । म्यान अफ द म्याच पन्जाबका केएल राहुल चुनिए ।