सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउँने

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ ।  
 
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो ।
 
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको समुपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच भएको बैठकमा यस्तो सहमति भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए । 
 
सरकारले मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ । एकीकृत योजना अन्तरगत प्रादेशिक र संघीय अस्पतालहरु समेत रहेका छन् । 
 
मन्त्रालयले १ हजार २ सय थान भेन्टिलेटर, ३ हजार ५ सय थान हाई डिफेडेन्सी यूनिट र ३ हजार थान आइसियूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ ।
 
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आइसियु, एचडियु, भेन्टिलेटर लगायतका मेशिन उपकरण तत्काल खरिद गर्नेगरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने सहमति पनि भएको छ ।
 
यस्तै कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ ।