Trending :
 

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज हुँदै, ट्रम्प र बाइडेन प्रतिस्पर्धामा

कार्तिक १८,२०७७

-

कात्तिक १८,२०७७ काठमाडौं। 
अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन आज हुँदैछ ।
 
नेपाली समयानुसार आज राति हुने निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडन प्रतिस्पर्धामा छन् ।
 
कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव  संसारभरको चासोको केन्द्र बनेको छ ।
 
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन ।
 
सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।
 
विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो ।
 
तर, यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो । हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो सङ्क्रमणले गाँजेको छ ।
 
त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ ।
 
त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ ।
 
आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् ।
 
ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ ।
 
कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ । अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ ।
 
हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था ९अर्लि भोटिङ्ग० मार्फत करिब नौ करोड ७९ लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।
 
यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो ।
 
आजको निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ ।
 
एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट रहेको छ ।
 
तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिटसहित वर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ ।
 
सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।
 
विगत वर्षमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भए तापनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ । तर, पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चारमाध्यमले पनि जो वाइडनको अग्रतालाई प्रचार गरिरहेका छन् ।
 
यसपटक हरेक विषयमा भौतिकरुपमा भन्दा प्राविधिकरुपमा मतदाता र उमेदवारहरुबीच अन्तरक्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरु पनि छन् ।