मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

कार्तिक २०,२०७७

-आस्था न्यूज

कात्तिक २०,२०७७ काठमाडौं ।
नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने छ । गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको  छ । 
 
लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहित देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् । यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन् ।
 
नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् । मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाई कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरे ।
 
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारी छि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए । तर महामारीका बीच सुरु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौतीपूर्ण भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।