Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजिनामा

श्रावण १२,२०७४

-एजेन्सी

१२ श्रावण/पटना-

नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल केशरीनाथ त्रिपाठीसँग कुराकानी गरेपछि राजीनामा सुम्पिएका थिए । पछिल्लो समयमा लालुप्रसाद यादवसँग बढ्दो विवादका बीच उनको राजीनामा आएको हो ।

राज्यपालसँगको कुराकानीपछि राजीनामा दिने क्रममा उनले सञ्चारमाध्यमसँग कुराकानी गर्दै वर्तमान समयमा आफूलाई नेतृत्व गर्न धेरै समस्या उत्पन्न गराइएकाले आफूले पदबाट राजीनामा दिएको बताएका छन् । उनले भने, ‘अहिलेको अवस्थामा मेरा लागि नेतृत्व गर्नु धेरै कठिन भएको छ ।

अन्तर्आत्मादेखि नै कुनै बाटा ननिस्कने देखेपछि मैले राजीनामा दिएको हुँ ।’ नीतिश कुमारले लालु प्रसाद यादवका छोरा तथा उपमुख्यमन्त्री तेजस्वी यादवमाथि सीबीआईले एफआईआर दर्ता गराएपछि राजीनामाको कदम चालेका हुन् । नीतिशले आफूले तेजस्वीसँग राजीनामा नमागेको र वास्तविकताबारे आफूलाई कुनै जानकारीसमेत नदिइएको बताएका छन् ।

गत महिना मात्रै सीबीआईले भ्रष्टाचारको आरोपमा लालुप्रसाद यादव र उनको परिवारका केही अड्डाहरूमा छापा मारेको थियो । बिहारमा तेजस्वी यादवको विषयलाई लिएर जारी तनावबीच मुख्यमन्त्री नीतिश कुमारले जेडीयू विधायक दलको बैठक बोलाएका थिए । यो बैठकपछि राज्यपालसँग भेटेर उनले राजीनामा दिएका हुन् ।

नितिश कुमारले अब भारतीय जनता पार्टीसँग मिलेर अघि बढ्ने कुरालाई भने अस्वीकार गरेका छैनन् । उनले भने, ‘यदि बिहारको हितमा हुन्छ भने विचार गर्न सकिन्छ ।’ यसअघि आरजेडी प्रमुख लालु प्रसाद यादवले तेजस्वी यादवलाई राजीनामा नदिन भनेको बताएका छन् । तेजस्वीले समेत यही कुरा दोहो¥याएका थिए । तर त्यसको केही घण्टापछि नितिश कुमारको राजीनामा आएको हो । राजीनामा स्वीकृत गर्दै राज्यपाल केशरीनाथ त्रिपाठीले अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी सम्हाल्न भनेका छन् ।

राजीनामा दिँदै उनले आफूले लालुप्रसाद यादवको आरजेडीसँगको गठबन्धन जोगाउन सम्पूर्ण कोसिस गरेको तर अहिलेको अवस्थामा काम गर्ने अवस्था नरहेकाले गठबन्धनको धर्म पालना गर्दै राजीनामा दिएको उल्लेख गरे ।

तेजस्वी भ्रष्टाचारको काण्डमा मुछिएपछि त्यसबारे उठेका प्रश्नको जवाफसमेत नितिश कुमारले दिनुपर्ने अवस्थाको सिर्जना भए पनि त्यसबारे उनलाई कुनै जानका™ीसमेत नदिइएपछि उनी अप्ठ्यारो अवस्थामा पुगेका थिए ।