Trending :
 

मतगणना स्थगनको माग गर्दै ट्रम्पद्वारा रिट !

अमेरिकी राष्ट्रपति चुनावः बाइडेन र ट्रम्पबीचको निर्वाचनको परिणाम घोषणाको नजिक

कार्तिक २१,२०७७

-आस्था न्यूज

कात्तिक २१, २०७७ काठमाडौं ।
अमेरिकी इतिहासकै निकै प्रतिस्पर्धात्मक मानिएको यसपालिको राष्ट्रपतीय चुनावको परिणामको पर्खाइ तेस्रो दिनमा प्रवेश गरेको छ । पूर्वउपराष्ट्रपति जो बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निर्वाचन परिणाम घोषणाको निकट पुगेको बताइएको छ ।
 
स्थानीय समयअनुसार बिहीबार रातिसम्ममा आगामी चारवर्षे नेतृत्वको स्पष्ट चित्र आउने अनुमान छ ।
 
जितका लागि निकै महत्त्वपूर्ण मानिएका मध्यपश्चिमी दुई ‘ब्याटलग्राउन्ड’ राज्य मिसिगन र विस्कन्सन आफ्नो पक्षमा पारेसँगै बाइडेन जितको निकै नजिक पुगेका छन् । तर हरेक मतको गणना नहुन्जेल स्थिति ‘तरबारको धारमा’ रहेको विश्लेषण पनि गरिँदै छ । ‘ब्याटलग्राउन्ड’ राज्यहरू एरिजोना, नेभादा, पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा मतगणना जारी छ । जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिन्छ ।
 
बाइडेन एरिजोना र नेभाडा राज्यको मतगणनामा अगाडि छन् भने ट्रम्पले पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा अग्रता लिइरहेका छन् । सीएनएनका अनुसार बिहीबार बेलुकासम्म बाइडेनले २ सय ५३ र ट्रम्पले २ सय १३ इलेक्टोरल कलेज भोट आफ्नो पक्षमा पारेका छन् ।
 
समाचार संस्था एपीले भने एरिजोना पनि बाइडेनको पक्षमा जाने बताएको छ । एरिजोनाको १३ इलेक्टोरल भोट बाइडेनको पक्षमा जाने एपीको दाबी छ । एपीका अनुसार बाइडेन २ सय ६४ इलेक्टोरल भोटसहित जितको नजिक छन् भने राष्ट्रपति ट्रम्प २ सय १४ इलेक्टोरल भोटसहित पछ्याइरहेका छन् ।
 
सन् १९९६ मा बिल क्लिन्टनको जितपछि डेमोक्य्राट उम्मेदवारका रूपमा बाइडेन एरिजोना राज्यमा जितनजिक रहेको सीएनएननले उल्लेख गरेको छ  । त्यसैगरी, सन् १९९२ को क्लिन्टनको जितपछि कुनै उदारवादी उम्मेदवारले जित्न नसकेको रेड स्टेट जर्जियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिइरहेका छन् ।
 
विजयी घोषणा लम्बिँदै गर्दा निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउन पनि थालिएको छ । जर्जियामा राष्ट्रपति ट्रम्प करिब ३ हजार मतले मात्रै अगाडि रहेका छन् । अझै केही काउन्टीमा मतगणना जारी रहेकाले डेमोक्रेटिक उम्मेदवार बाइडेनले जर्जिया पनि जित्न सक्ने अनुमान गरिएको छ ।