Trending :
 

जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित, कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति

कार्तिक २३,२०७७

-आस्था न्यूज

कात्तिक २३,२०७७ काठमाडौं ।
 
डेमोक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् ।
 
मतगणना भइरहेको पेन्सल्भेनिया राज्यको २० इलेक्टोरल मत बाइडेनको पक्षमा परेसँगै २ सय ७३ इलेक्टोरल भोट पुगेर उनी विजयी भएको सीएनएनले जनाएको छ । ‘चार दिनको लामो प्रतीक्षापछि यो चुनावको ऐतिहासिक क्षणमा हामी पुगेका छौं । 
 
अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने सीएनएनको प्रक्षेपण छ,’ सीएनएनका वोल्फ ब्लितजरले स्थानीय समयअनुसार ११ बजेर २४ मिनेटमा भने । 
 
बाइडेन यसअघि बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । उनी डेलावेयरबाट लामो समय सिनेटरसमेत निर्वाचित हुँदै आएका थिए । बाइडेनले जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
 
पछिल्लो मतपरिणामअनुसार जो बाइडेनले नेभादामा पनि जित्ने भएका छन् । सीएनएनले ६ इलेक्टोरल भोट रहेको नेभादामा बाइडेनले नै जित्ने प्रक्षेपण गरेको छ । अहिले नर्थ क्यारोलाइना, जोर्जिया, एरिजोना र अलास्कामा मतगणना भइरहेको छ । 
 
१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प अगाडि छन् भने १६ इलेक्टोरल भोट रहेको जर्जिया र ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेन अगाडि छन् । यहीअनुसार अन्तिम नतिजा आए बाइडेनले ३०६ इलेक्टोरल भोट पाउनेछन् भने ट्रम्पले २३२ इलेक्टोरल भोट पाउनेछन् ।
 
परिणाम घोषणा भएसँगै बाइडेनले विज्ञप्ति जारी गर्दै अमेरिकी जनताले आफूप्रति गरेको विश्वासको सम्मान गर्ने बताएका छन् । रिसराग र आरोप–प्रत्यारोप त्यागेर राष्ट्रका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ । ‘मलाई मतदान गरे या नगरे पनि म सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुनेछु,’ बाइडेनले भनेका छन् । 
 
मिलेर अघि बढेको खण्डमा अमेरिकाले गर्न नसक्ने केही नरहेको उनको दाबी छ । आफ्नो चुनावी अभियानका क्रममा बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका कारण ‘देशको आत्मा जोखिममा रहेको’ उल्लेख गर्दै आफूले ठीक पार्ने बताउने गरेका थिए ।
 
चुनावी परिणामसँगै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । उनी पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी उपराष्ट्रपति पनि भएकी छन् । ह्यारिसले ट्वीट गर्दै आफू र बाइडेनको मात्र नभई चुनावमा अमेरिका र यसका लागि लड्नेहरूको जित भएको उल्लेख गरेकी छन् । ‘हामीले धेरै गर्न बाँकी छ । अब सुरु गरौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।