कोरोना विरुद्धका खोप परीक्षणको अन्तिम चरणमा, ९० प्रतिशतसम्म प्रभावकारी देखिएको दाबी

कार्तिक २४,२०७७

-

कार्तिक २४,२०७७ काठमाडौं ।
 
कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।
 
यो उत्पादक कम्पनीले बनाएको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो र कुनै पनि प्रकारका गम्भीर साइड इफेक्ट देखिएको छैन । कम्पनीले यो महिनाको अन्तिमसम्म आकस्मिक स्वीकृतिका लागि निवेदन दिने भएको छ ।
 
फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्तिी यो महत्त्वपूर्ण दिन भएको बताए । उनले भने,‘ कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्ध रोक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ । ’
 
हालसम्म दर्जनौं कोभिड विरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ । यो खोपमा प्रयोगात्मक विधि प्रयोग गरिएको छ जसमा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई तयार पार्न भाइरसको जेनेटिक कोडलाई इन्जेक्सनमार्फत् प्रवेश गराइन्छ ।