चर्चित पत्रकार त्रिपाठीले ल्याए बैकल्पिक शक्तिको अवधारणा, सर्बत्र चर्चा हुन थाल्यो

कार्तिक २५,२०७७

-

 
 
काठमाडौं । पछिल्लो पटक सत्तारुढ नेकपा भित्र विचलनको अबस्था आएपछि नेपालको राजनीतिमा नयाँ तरंग सृजना गरिदिएको छ । सत्तारुढ र प्रतिपक्ष दलहरुको कामप्रति जनताको नैराश्यता बढ्दै गएको भन्दै कतिपय बुद्धिजिवीहरुले यसका विकल्प अघि सार्न थालेका छन् । 
 
केहि समय अघि शुरु भएका साझा पार्टी, विवेकशिल तथा विभिन्न मोर्चाहरुमा पनि जनताको आर्कषण बढ्न नसकेको अबस्थामा ठुला दुई दल छोडेर फेरि नयाँ कुनै अमुक शक्तिमा जनता जानेछन् भन्ने अनुमान गर्न कठिन छ । तर, यहि परिवेशमा अब नयाँ विकल्प शुरु गर्नुपर्ने वहस चल्न थालेका छन् । यहि सन्दर्भलाई जोडेर एकजना पत्रकारले यसको अवधारणा सार्बजनिक गर्दे नयाँ विकल्पका साथ अघि बढ्नुपर्ने आवस्यकता औंल्याएका छन् ।
 
चर्चित पत्रकार तथा नेपाली पत्रकारितामा सफल  सम्पादकमा नाम कमाएका विनोद त्रिपाठीले नेपाल निर्माण वृहत जनसकल्प समिति बनाउन सकिने रेखांकन कोर्दे सबै पेशागत व्यक्ति समावेश गर्न सकिने खाका सार्बजनिक गरेका छन् । उनले यो विकल्पमा आँफै सहभागी हुने हुन् वा अरुलाई सुझाएका मात्र हुन् कुनै कुरा खुलाएका छैनन् । यसमा यो अभियान मात्र हुने कि बैकल्पिक राजनीतिक दल हुने यो पनि उल्लेख छैन । 
 
तर, अब दुई ठुला दलहरुले काम गर्न नसकिएको अबस्थामा नयाँ विकल्प तयार गर्नुपर्नेमा उनले जोड दिएका छन् । त्रिपाठीको यो अबधारणा सार्बजनिक भए लगत्तै सबैतिर यसको चर्चा शुरु हुन थालेको छ ।
                      हेरौं, उनले सार्बजनिक गरेको नयाँ विकल्पको मोडालिटी । 
 
एउटा महत्वपुर्ण विकल्पका साथ––
अहिलेका मुख्य दल भनिएकासंग जनताको विश्वास टुट्दै गएको छ । साँच्चीकै सर्वसाधारण यी दललाई फेरि भोट दिनै नपरोस भनिरहेका छन् । त्यसो भए विकल्प के त ? 
          बिकल्प– ‘नेपाल निर्माण वृहत जनसंकल्प समिति ।’
   यो समितिका उपसमितिहरु ७७ वटा जिल्लामा क्रियाशिल हुनेछन् । यो समितिमा हरेक वडादेखि जिल्लाका हरेक प्रतिनिधीहरु केन्द्रीय मञ्चमा आवद्ध हुनेछन् । केन्द्रीय, व्यवसायीक र जिल्ला समितिमा ५ सय जनाको नेटवर्क मुलसमिति हुनेछ । यो हरेक क्षेत्रको प्रतिनिधित्व गर्ने पुर्णसमावेशी हुनेछ । केन्द्रीय जनसंकल्प समितिमा सामाजिक भावना भएका समाजसेवी, अभियन्ता, कानुन व्यवसायी, प्राध्यापक, विज्ञ, कलाकार, पत्रकार, संचारकर्मी, व्यापारी, उद्योगी, कृषक, उद्यमशिल, इन्जिनियर, वैज्ञानिक, बिद्यार्थी, पुर्वकर्मचारी, मजदुर लगायतका पेशागत प्रतिनिधी समाबेश हुनेछन् । यो विशुद्ध देश संचालनको मेरुदण्डको एक कडी बन्नेछ । 
 
 जनसंकल्प समितिले गर्ने तत्काल महत्वपुर्ण कामहरु–
 
  १, भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचार नियन्त्रण जनसंकल्प उपसमिति निर्माण गर्ने । यसमा कानुन व्यवसायीले सरकारका हरेक कामका अभिलेख संकलन गरेर प्रमाणका आधारमा भ्रष्टाचार गरेका हरेक व्यक्तिको लिष्ट तयार पारेर जनताका विच सार्बजनिक गर्ने ।
 
२, वैदेशिक रोजगारमा भएका ठगी नियन्त्रण जनसंकल्प उपसमिति निर्माण गर्ने । यसमा व्यबसायीकै नेतृत्वबाट ठगी गर्ने व्यक्ति र सरकारी संयन्त्रको विवरण संकलन गरेर सम्पुर्ण विवरण सार्बजनिक गर्ने ।
 
३, सरकारी कर्मचारीको अनियमीतता नियन्त्रण जनसंकल्प उपसमिति निर्माण गर्ने । यसमा कुनै विवादमा नमुछिएका पुर्वकर्मचारीको समुहले अनुगमन गरेर भ्रष्ट कर्मचारीको लिष्ट तयार पार्दे हरेक दिन सार्बजनिक गर्ने ।
 
४, विकास निर्माणमा भएका ढिलासुस्ती नियन्त्रण जनसंकल्प उपसमिति निर्माण गर्ने । यसमा इमान्दार निर्माण व्यबसायीबाटै एक समिति तयार गरेर अन्य कामचोर ठेकेदारदेखि निर्माण कार्यमा संलग्न सरकारी इन्जिनियरहरुको विवरण तयार गरेर जनताका विच सार्बजनिक गर्ने ।
 
५, यसरी हरेक क्षेत्रको जस्तै, ः शिक्षा, स्वास्थ्य, आयातनिर्यात, खेलकुद, मनोरञ्जन, संचार, विज्ञान, कृषि, पर्यटन, अन्तराष्ट्रिय,पारवहन, रोजगार, बालबालिका, प्राकृतिक लगायत हरेक क्षेत्रको सुधार र भइरहेका गलत प्रवृतिको नियन्त्रण गर्न जनसंकल्प उपसमिति निर्माण गर्ने । 
  अहिले महंगीले जनताको जनजिवन थला परिसकेको छ । खाद्यान्नदेखि निर्माण सामग्रीसम्म, औषधीदेखि लत्ताकपडामा सरकारले नै विचौलिया खटाएर महंगी बढाएको स्पष्ट छ । यसलाई नियन्त्रण गर्न कालाबजारी नियन्त्रण उपसमिति बनाएर अनुगमन र स्थलगत कारवाहीका व्यापक कार्यक्रम चलाउने । 
 
यो बिषम घडीमा भोकमरी चलिरहेको छ । सरकारले झन भोकभरी बढाउन चाहन्छ । त्यसैले, भोकमरीबाट पीडितहरुको नामावली संकलन गरेर हरेक जिल्लाका पायक पर्ने स्थानमा व्यबस्थित निशुल्क भोजन कार्यक्रम संचालन गर्ने । यसमा व्यबसायीहरुले रोजगारदेखि आर्थिक सहयोगमा पारदर्शी रुपमा सक्रिय हुने । योसंगै काम गर्न सक्ने र काम दिन सक्ने जनशक्तिलाई उपयोग गर्दे उत्पादन र रोजगारमा पनि सक्रिय बनाउँदै लाने । यसले क्रमश रोजगार बढ्दै जानेछ भने भोकमरीको संख्या घट्दै गएर एकदिन सबैजना स्वनिर्भर हुँदै जानेछन् । यसका लागि रोजगार, व्यवसाय, लगानी, उत्पादन र युवा परिचालनका व्यवहारिक पक्षलाई कार्यान्वयन गर्ने । अर्को महत्वपुर्ण लक्ष्य भनेको अब मुलुकमा कार्यकारी प्रमुख जनताबाट सोझै निर्वाचित हुनुपर्छ भन्ने हो । सांसदले प्रधानमन्त्री छान्न पाउने प्रणाली पुर्ण रुपमा खारेज हुनुपर्छ । सोझै जनताले चुन्न पाउनुपर्छ । 
 
संगठन निर्माण र नेतृत्वमा क्षमता, लोकप्रियता र सर्वस्वीकार्यका आधारमा छनौट गर्ने । यसमा हालसम्म अन्य दलहरु, अन्य अभियान र समुहमा देखिएका रिस राग, वैमनस्यता र अभिमान त्याग्न सक्ने मात्र सदस्य रहन सक्नेछन् । जस्को नेतृत्वमा भएपनि देश र जनताकै लागि काम गर्ने हो भन्ने उच्च भावना नपलाएसम्म उहि पुरानै पार्टीहरु र हालका अभियान जस्ता निरर्थक मात्र सावित हुनेछन् । 
 
अब, साँच्ची नै नेपाल बनाउने हो भने अर्को चुनावसम्ममा उलतपुलट नतिजा तयार गर्नका लागि यो तयारीमा जुट्न सक्नुपर्छ । हरेक सदस्यको संकल्प हुनुपर्छ, राष्ट्र, राष्ट्रियता, देश, जनता र समाज निर्माणमा पवित्र सेवाभाव । त्यसैले, यसको नाम नै संकल्पमा आधारित हो ।
 
अब, अरु दलहरु र नेताहरुलाई गाली गर्नु, आलोचना गर्नु र सुझाव दिनुको सट्टा खास जनताकै प्रतिनिधित्वमुलक बृहत मोर्चाको निर्माण गरेर अघि बढ्न सक्नुपर्छ । हैन भने यिनै दलहरु, यिनका युवा नेताहरु, यस्तै अभियान, यस्तै अभियन्ताहरु, यस्तै शैली, यही प्रवृतिबाट देश जहाँको तहिं रहन्छ । जति कराएपनि जति पापड पेलेपनि केहि हुनेवाला छैन ।  एउटा संकल्प सहितको सानो अवधारणा प्रस्तुत गरेको छु । सबै देशप्रेम र सच्चा नेपाली नागरिकले यसमा विचार पुर्याउन सक्नुहुनेछ ।