खाडी मुलुकले आप्रवासी कामदारलाई लगाउँदै आएको बाध्यकारी नियम हटाउँदै

कार्तिक २५,२०७७

-

कार्तिक २५, २०७७ काठमाडौं ।
नेपालीको रोजगारीको गन्तव्य खाडी मुलुकले आप्रवासी कामदारलाई लगाउँदै आएको बाध्यकारी नियम हटाउँदै कामदारमैत्री नियम बनाउन थालेका छन् । खाडी मुलुक कतार र साउदी अरबले वाध्यकारी नियम हटाउँदै कामदारको सहज हुने खालका नियम बनाएका छन् भने अन्य मुलुकले पनि विस्तारै आफ्नो पुरानो नियम परिवर्तन गर्दै जान थालेको देखिएको छ ।
 
दुई महिना अघि कतारले आप्रवासी कामदारले कम्पनी परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति चाहिने बाध्यकारी नियम हटाउने निर्णय गरेसँगै साउदी अरबले पनि उक्त वाध्यकारी नियम हटाउने भएको छ । साउदी अरब सरकारले त्यहाँ कार्यरत आप्रवासी श्रमिकलाई आवश्यक बेलामा स्वदेश फर्किन सक्नेगरी नियम बनाउन थालेको हो ।
 
साउदीले श्रमसम्बन्धी कानुनको सुधार गर्दै सन् २०२१ मार्च १४ देखि लागू हुनेगरी यस्तो व्यवस्था गर्न लागेको हो ।मार्च १४ देखि लागू हुनेगरी करार अवधि सकिएपछि विदेशी श्रमिकले रोजगारदाताको अनुमतिबिनै स्वदेश फर्कन सक्ने र रोजगारदातासमेत परिवर्तन गर्नसक्ने व्यवस्था गर्न लागेको जनाएको छ । यसअघि साउदी सरकारले घरमा बँधुवा मजदुरका रूपमा काम गर्ने श्रमिकलाई लागू हुने काफला प्रणाली पनि हटाउने निर्णय गरेको बताइएको छ ।
 
नयाँ श्रम कानुनले स्वदेश फर्कंदा आप्रवासी श्रमिकले विद्युतीय माध्यममार्फत रोजगारदातालाई जानकारी भने गराउनुपर्नेछ ।यसअघि साउदी अरबबाट स्वदेश फर्कन रोजगारदाताको अनुमति अनिवार्य थियो । यता, कतार सरकारले नेपालीसहित आप्रवासी कामदारको तलव बढाएको छ ।
 
नेपाली युवाको रोजगारीको गन्तव्य मुलुक कतारले कामदारको न्यूनतम तलब एक हजार कतारी रियल अर्थात् नेपाली ३२ हजार रुपियाँ तोकेको छ । साथै, कामदारलाई बस्न आवास खर्चबापत् पाँच सय र खानाको लागि तीन सय गरी जम्मा १८ सय रियल तोकेको हो । तर, आवास र खानाको सुविधा कम्पनीले उपलब्ध गराएको खण्डमा एक हजार रियाल मात्रै दिए पुग्नेछ ।
 
यो न्यूनतम तलब घरेलु श्रमिकको हकमा पनि लागू हुने बताइएको छ ।राजपत्रमा प्रकाशित भएको छ महिनापछि यो नियम कार्यान्वयनमा आउने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयल दुई महिना अघि बताएको थियो ।
गोरखापत्रबाट