छठका लागि पोखरीहरु श्रृंगारिदै

मंसिर ०४,२०७७

-

मंसिर ४,२०७७ काठमाडौं । 
मिथिलाञ्चलको लोक आस्थाको पर्व छठको दोस्रो दिन आज, खरना विधि । छठ पर्व गरेका व्रतालुहरुले बिहीबार बेलुका इष्टदेवलाइ पूजा अराधना गरी खरना विधि सम्पन्न गर्ने छन् ।
 
खरना विधिमा माटोको नयाँ चुल्हो र माटोको नयाँ भाँडोमा मिठा, दूध र चामलको खीर पकाइन्छ । खरनामा नैवेद्य चढाउने बेलामा अर्घदान अनुसार त्यही स्थानमा केराको पातमाथि नैवेद्य चढाइने परम्परा रहेको छ ।
 
यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ ।
 
 
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपवासना गर्ने गरिन्छ ।  यो महापर्वको पहिलो दिन स्नान गरी चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुनेछ ।
 
 
मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने यो पर्वका लागि जनकपुर लगायत तराई मधेशको विभिन्न स्थानमा भव्य तयारी भइरहेको छ । यसका लागि पोखरीका डीलहरुसरसफाई गरिएको छ ।
 
कोरोना कहरका बीच जनकपुरधाम उपमहानगरका मुख्य पोखरी र घाटहरूलाई श्रृंगारेर पूजाको तयारी हुँदैछ । जनकपुर नगरभित्रका पोखरी सरसफाइदेखि पूजास्थल निर्माण अन्तिम चरणमा रहेको छ ।
 
 
पोखरी नै पोखरीको शहरको रुपमा चिनिएको जनकपुरधामका प्रमुख पोखरीमा छठ पूजाकै  लागि टेन्ट र पण्डाल लगाइएको छ । शुक्रबार हुने छठ पर्वका लागि जनकरपुरधाममा कोरोना संक्रमणको भय कायमै रहेपनि सावधानी अपनाएरै पूजापाठ गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।