बिहीबार सेयर कारोबार ६ अर्ब भन्दा धेरै

मंसिर ०४,२०७७

-

मंसिर ४, २०७७ काठमाडौं ।
नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।
 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे । उनले भने, ‘यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो, आज नयाँ रेकर्ड कायम भएको हो ।’
 
नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ । बजारमा उल्लास देखिए पछि सेयर बजारका लगानीकर्ताहरु खुसी भएका छन् ।
 
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बिहीबारको कारोबारले लगानीकर्ताहरुलाई थप हौसला प्रदान गरेको बताउँछन् । उनले भने, ‘बजारले ऐतिहासिक रेकर्ड राखेर लगानीकर्तालार्य थप मनोवल बढाएको छ, अब लगानीकर्ता झनै आकर्षित हुनेछन् ।’
 
कुनै बेलामा झरेर ११ सयमा पुगेको नेप्से परिसूचक अहिले १८ सय नजिक पुगेको छ । अब बजार पहिलेको अवस्थामा नझर्ने रौनियार बताउँछन् । बजार करेक्शन हुनका लागि कहिले काहि घटेपनि पुरानै अवस्थामा नफर्कने उनको अनुमान छ ।