कोरोनाविरुद्धको खोप परीक्षण अन्तिम चरणमा, सकारात्मक नतिजाले आशा जगायो

मंसिर ०५,२०७७

-

मंसिर ५, २०७७ काठमाडौं ।
कोभिड-१९ विरुद्ध खोप विकास गरिरहेका वैज्ञानिकहरू सफलताको नजिक पुगेका खबर आउने क्रम जारी छ । खोपको प्रभावकारिताबारे गरिएको तेस्रो तथा अन्तिम चरणको मानव परीक्षणको नतिजा सकारात्मक देखिएसँगै विश्वभर आशा जागेको छ ।
 
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोभिड-१९ विरुद्धको खोपले ६० देखि ७९ वर्ष उमेर समूहका मानिसमा बलियो रोगप्रतिरोधी प्रतिक्रिया देखाएको बिहीबार अनुसन्धानकर्ताले जनाएका छन् । उक्त उमेरसमूह भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिममा रहेको समूह हो ।
 
बीबीसीका अनुसार खोप परीक्षण क्रममा सहभागीलाई १८ देखि ५५ वर्ष, ५६ देखि ६९ वर्ष र ७० वर्षमाथि उमेर समूहमा विभाजन गरिएको थियो तर ७० वर्षमाथिका वृद्धवृद्धामा पनि १८ देखि ५५ वर्ष उमेर समूहका जस्तै भाइरस प्रतिरोधी क्षमताको विकास भएको पाइएको छ । परीक्षणमा सहभागी ९९ प्रतिशतमा खोपको दोस्रो डोज लगाएको दुई सातामा एन्टीबडी विकास भएको थियो । अनुसन्धानकर्ताले ५ सय ६० जना स्वस्थ वयस्कमा गरिएको खोप परीक्षणको नतिजा ‘उत्साहजनक’ भएको पनि जनाएका छन् ।
 
उक्त खोपको तेस्रो चरणको परीक्षण अझै जारी छ । तेस्रो चरणको खोप परीक्षण गरिसकेका कम्पनीहरू फाइजर र बायोएनटेक, स्पुतनिक, सिनोभ्याक बायोटेक र मोडेर्नाले राम्रो प्रारम्भिक नतिजा देखाएको बताएका छन् । अमेरिकी फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले विकसित गरेको कोभिड–१९ विरुद्धको खोपले ६५ वर्षमाथिका ९४ प्रतिशत बिरामीलाई जोगाउने बताइएको छ । अन्तिम चरणमा रहेको उक्त खोप परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी थिए । तीमध्ये आधालाई खोप र आधालाई ‘प्लेसबो’ दिइएको थियो ।
 
तेस्रो चरणमा जारी परीक्षणले सबै उमेरसमूह र जातीय पृष्ठभूमिका मानिसमा बराबर काम गरेको पनि ती कम्पनीको दाबी छ । उनीहरूले आपत्कालीन प्रयोगका लागि अमेरिकामा छिट्टै अनुमति लिइने जनाएका छन् ।
 
कोभिडविरुद्धको खोप उत्पादनमा अग्रमोर्चामा रहेको अमेरिकी कम्पनी मोडेर्नाले विकसित गरेको खोपले ९५ प्रतिशत बिरामी निको हुने जनाइएको छ । सो खोप भण्डारण र ओसारपसार गर्न फाइजरभन्दा सजिलोसमेत देखिएको छ । मोडेर्नाको खोप घरायसी वा क्लिनिकको फ्रिजमा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रममा ६ महिनासम्म राख्न सकिनेछ । बेलायतले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप १० करोड डोज, फाइजर र बायोएनटेकको ४ करोड डोज र मोडेर्नाको ५० लाख डोज अग्रिम अर्डर गरिसकेको छ ।
 
उता चीनको सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोगप्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको थियो । उक्त खोप मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताको दाबी छ । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोप तयार गरिरहेको छ ।