देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउने मन्त्री अर्यालको घोषणा

मंसिर ०५,२०७७

-

मंसिर ५, २०७७ काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय स्याङ्जाको वालिङलाई नमुना कार्यालय घोषणा गर्नुभएको छ । 
 
मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत आज (शुक्रबार) मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गर्नुभएको हो । 
 
त्यस क्रममा मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताउनुभयो । मालपोत र नापी कार्यालयको बिग्रीएको छबी बदल्नका लागि सफलता प्राप्त हुँदै गएको बताउदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह हुने सेवाबाट पुष्टि हुँदै गएको बताउनुभयो । 
 
सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उहाँले त्यसका निम्ती नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताउनुभयो । 
 
‘सिस्टमबाट नै सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गरेर नै सेवाग्राहीलाई खुसी बनाउने काम प्रमुख ठानेर हामी यो अभियानमा लागेका छौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हिजो २÷३ दिन बसेर गर्नुपर्ने कामहरु अहिले एकैदिनमा गर्न सकिनेगरी सर्वसुलभ र छितोछरितो सेवा प्रवाह हुने सिस्टम विकास गरेर जनतालाई सुबिधा दिएका छौ ।’
 
नमुना भन्दा २÷४ ठाउँमा गर्ने भन्ने पनि हुनसक्ने भन्दै उहाँले यो सरकारको अभियान भएको भन्दै देशभरका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधीमैत्री सेवा पु¥याइने बताउनुभयो ।
 
तर, यसका निम्ती दक्ष जनशक्तिको अभाव हुँदा अभियान प्रभावित भएको बताउनुभयो । ‘हामीले जुन प्रविधिको प्रयोग गर्न खोज्यौं त्यसका निम्ती दक्ष जनशक्तिको आवश्कता पर्छ । त्यो कुरामा हामीलाई दक्ष जनशक्तिको कसरी विकास गर्ने भन्ने कुरामा चुनौती छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हिजो एकढंगले कर्मचारीहरुको नियुक्ती भएका छन् ।
 
हामी अर्काे हिसाबले हिड्न खोजेका छौ । नयाँ खालको प्रविधिलाई प्रयोग गरेर सेवा प्रवाह गर्न सक्ने दक्ष जनशक्तिको संख्या हामीसँग कम छ । यो कुरा चुनौतीपूर्ण त छ । तर विज्ञताको बृद्धी गर्दै कर्मचारीहरुलाई दक्ष बनाउदै हामी अगाडी बढ्नुपर्छ ।’ 
 
कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झटहरु रहेको भन्दै उहाँले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालले बताउनुभयो । 
 
यसैबीच मन्त्री अर्यालले बेरोजगारलाई स्वःरोजगारमा परिणत गर्न भुमि बैंकको अवधारणा ल्याईएको बताउनुभयो । भुमि बैंक मार्फत बाँझो खेतियोग्य जमिनको प्रयोग गरी उत्पादकत्व बृद्धि गरिने मन्त्री अर्यालले बताउनुभयो ।