विश्वभर ४ करोडभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

मंसिर ०६,२०७७

-

मंसिर ६,२०७७ काठमाडौं। 
विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ४ करोड नाघेको छ ।
 
पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो ।
 
निको हुनेको यो संख्या कुल संक्रमितका आधारमा ६९ प्रतिशत हो ।
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४६ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८१ हजार ८१८ पुगेको छ ।
 
यस्तै यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ९५१ जनाको मृत्यु भएको छ ।
 
दैनिक लगातार ११ हजार हाराहारीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।
 
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ६७३ पुगेको छ ।
 
दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २१८ जनाको मृत्यु भएको छ ।
 
युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
 
बेलायतमा पछिल्लो २४ घण्टामा ५११ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५४ हजार २८६ पुगेको छ ।
 
जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ ।
 
युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४८ हजार ५६९ जनाको मृत्यु भएको छ ।
 
यस्तै फ्रान्समा पनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।
 
संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।
 
संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।
 
विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख २४ हजार ६८० पुगेको छ ।
 
उपचार गराइरहेकामध्ये १ लाख २ हजार १८६ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।