Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

पाकिस्तानमा साहिद खकान अब्बासी अन्तरिम प्रधानमन्त्रीमा चयन

श्रावण १५,२०७४

-एजेन्सी

१५ श्रावण/इस्लामाबाद-

 पाकिस्तानमा साहिद खकान अब्बासी अन्तरिम प्रधानमन्त्रीको रूपमा चयन भएका छन् । पाकिस्तानको सत्तारूढ पाकिस्तान मुस्लिम लिग (नवाज) ले उनलाई अन्तरिम प्रधानमन्त्रीमा चयन गरेको हो ।

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पनामा पेपर्स काण्डमा दोषी ठहर गर्दै पदमा रहन अयोग्य घोषित गरेपछि प्रधानमन्त्रीको पद खाली भएको हो ।

सर्वोच्चले दोषी ठहर गरेलगत्तै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार भएको पाकिस्तान मुस्लिम लिगको बैठकले अब्बासीको नाममा सहमति जुटाएको हो । उनी नवाज सरिफको सरकारमा पेट्रोलियममन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।

अन्तरिम प्रधानमन्त्री अब्बासीले सहबाज सरिफले नेसनल एसेम्बलीको चुनाव जितेपछि उनका लागि प्रधानमन्त्रीको कुर्सी छाड्ने बताइएको छ । नवाज सरिफका भाइ सहबाज नेसनल एसेम्बलीको सदस्य नभएका कारण तत्काल प्रधानमन्त्री बन्न नसकेका हुन् । नवाज सरिफको कान्छा भाई सहबाज हाल पन्जाब प्रान्तका मुख्यमन्त्री रहेका छन् ।

पाकिस्तानमा कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न पाएका छैनन् । सरिफले पूरा कार्यकाल काम गर्ने अपेक्षा गरिएको भएपनि एक वर्ष बाँकी छँदै पनामा पेपर्स काण्डले पद गएको हो ।

यद्यपि उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिँदै आफ्नो कार्यकालमा कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन् । धनी व्यापारिक परिवारमा जन्मिएर राजनीतिमा लागेका सरिफ अब पार्टीको नेतृत्वमा समेत रहन पाउने छैनन् । उनी तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।