सेयर बजार १८ सय बिन्दु पार
-
मंसिर ९,२०७७ काठमाडौं ।
नेपाल स्टक एक्सचेन्जले मंगलबार नेप्से १८ सय बिन्दु पार गरेको जनाएको छ । २९.६८ अंकले बढेको सेयर बजार १८८१ अंकको रेकर्ड ब्रेक गर्नेतर्फ मोडिएको छ । आज नेप्से परिसूचक १८१०.११ विन्दुमा अडिएको छ । यस दिन ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा १ सय ९६ कम्पनी सामेल भए ।
पछिल्ला दिनमा नेप्से सूचक र कारोबार रकमले उत्साह देखाएको छ । आज होटल समूह बाहेक सबै समुह बढेको छ । सेयर बजारले मंगलबार १८ सयको मनोवैज्ञानिक विन्दु पार गरेपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।
बोटर्लस नेपाल, हिमालयन डिष्टिलरी, विशाल बजार लगायतका कम्पनीको भाउ बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटेलका लगानीकर्ता परेका छन । यसको भाउ ३.२० प्रतिशतले घटेको हो । यस दिन एनआइसी एसिया बैंकको सर्वाधिक ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा पुनर्बिमा कम्पनीको कारोबार बढी भएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदरका कारण पनि बजार बढ्न मदत पुगेको लगानीकर्ताहरु बताउँछन् ।