चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन

मंसिर ११,२०७७

-

मंसिर ११,२०७७ काठमाडौं ।
चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो।
 
त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।
 
उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । माराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेका थिए । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गर्‍यो ।
 
उसले आफ्नो क्लब क्यारियरमा केवल बार्सिलोना र नेपोलीका लागि मात्रै खेले ।
 
म्याराडोनाबार थप केही जानकारी
इटली र सम्भवत युरोपकै सर्वाधिक गरिब शहर नेपल्सस्थित नापोली फुटबल क्लबले सन् १९८४ मा विश्वकै महँगा खेलाडीलाई बार्सिलोनाबाट ६.९ मिलियन पाउन्डमा किनेपछि सबैतिर सनसनी फैलियो ।
 
धेरैका मनमा मुख्यत दुई सवाल टड्कारो बनेर उभिएका थिए । एक-प्रचुर सम्भावना बोकेका स्टार खेलाडीले बाटो बिराएर नापोली किन आए ? (यतिबेलासम्म नापोली युरोपको ठूलो क्लब थिएन र ठूलो क्लब बन्ने कुनै छाँट पनि थिएन ।) दुई -ऋणमा डुबेर टाँट पल्टन लागेको क्लबले बार्सिलोनालाई तिर्ने मोटो रकम कहाँबाट ल्यायो रु
 
 
म्याराडोनालाई नापोलीको मैदानमा आयोजित पहिलो पत्रकार सम्मेलनमा सोधिएको पहिलो प्रश्न थियो-‘माफियाबारे तपाईंलाई थाहा छ कि छैन ? यहाँ सबैतिर उनीहरुको लगानी छ । कतै त्यही लगानीले म्याराडोनालाई तानेको  त होइन ?’ 
 
जवाफमा क्लबका अध्यक्ष कोर्राडो फेर्लाइनोले जंगिदै भनेका थिए, ‘हामीले म्याराडोनालाई भित्र्याउन ठूलो दुःख गरेका छौँ । तपाईंको प्रश्नले यो क्लबकै बेइज्जत गरेको छ । म यो प्रश्नको जवाफ दिन्न, बरु प्रश्न सोध्नेलाई यहाँबाट निस्कन भन्छु । तपाईं तत्काल निस्कनुस् ।’
 
डिएगो म्याराडोना अर्जेन्टिनामा जन्मिए, तर त्यो नापोली शहर नै हो, जहाँ उनी ‘भगवान्’ बने । यो प्रिय शहरसँगको म्याराडोनाको भावनात्मक सम्बन्धलाई वृत्तचित्रको रुप दिएका छन्, निर्देशक आसिफ कपाडियाले । भारतीय मुलका यी ब्रिटिस फिल्ममेकरले यसअघि ‘२००१’ मा इरफान खानलाई मुख्य भूमिकामा लिएर ‘द वारियर’ नामक फिल्म निर्देशन गरेका थिए ।
 
त्यसयता, ब्राजिलका रेसिङ ड्राइभर आइर्टोन सेन्ना र बेलायती गायिका एमी वाइनहाउसबारे उनले वृत्तचित्र बनाए । यी दुबै वृत्तचित्रले अन्तर्राष्ट्रिय स्तरमै राम्रो चर्चा बटुले । कपाडियालाई चिनाउने पहिलो फिल्म भने १९९७ को ‘द सिप थिफ’  हो । यो सर्ट फिल्म कान्स फिल्म फेस्टिभलअन्तर्गत सिनेफन्डेसन विधामा दोस्रो भएको थियो ।
 
समग्रमा आसिफको पाँचौ फिल्म हो -डिएगो म्याराडोना । म्याराडोनाबारे यसअघि नै धेरै फिल्म बनिसकेका छन् । तर २०१९ मा सार्वजनिक यो फिल्मले म्याराडोनाको बाल्यकाल र गरिबीका कथाभन्दा नापोलीमा उनले हासिल गरेको समृद्धी र त्यसलाई टिकाउन नसक्दाको पीडा बोल्छ ।
 
म्याराडोना स्वयम्, उनकी पूर्वपत्नी, फिटनेस ट्रेनर, नापोली क्लबका अध्यक्ष, समकालीन खेलाडी, पत्रकारलगायतले म्याराडोना र उनको प्रिय क्लबबारे बोलेका छन् । यो डकुमेन्ट्री युट्बुयमा पनि  उपलब्ध छ ।