उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता:

मंसिर १४,२०७७

-

मंसिर १४, २०७७ काठमाडौं ।
 
 नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ ।
 
हिजो शनिबार भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएकाले अहिलेको कार्यकालमा गोल्छा र त्यसपछि ढकाल अध्यक्ष बन्नुहुने भएको हो ।
 
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याउनुभएको छ ।
 
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघई विजयी भएका छन् ।। जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान प्यानलको वर्चस्व छ ।
 
निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सबै व्यवसायीका प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभयो । आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
 
उहाँले भन्नुभयो, ‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो ।  आजदेखि हाम्रो पक्ष विपक्षभन्दा पनि सबै निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जित भनेको सम्पूर्ण व्यावसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’
 
यस्तै एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो । उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।
 
जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघाई आफैंमा सवल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताउनुभयो । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।