बेलायतमा डिसेम्बर पहिलो साताभित्रै कोभिड खोप उपलब्ध हुने

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
बेलायतमा डिसेम्बर पहिलो साताभित्रै कोभिड खोप उपलब्ध हुने भएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र बेलायत आइपुग्ने विवरण सार्वजनिक भएका छन् ।
 
एनएचएस इंग्ल्यान्डले बेलायतका अस्पतालहरूमा ७ देखि ९ डिसेम्बरभित्र खोप आइपुग्ने जनाउँदै तयारी अवस्थामा रहन आह्वान गरेको बेलायती अखबारले उल्लेख गरेका छन् । फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो । तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम ९७० डिग्री सेन्टिग्रेड० आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।
 
उक्त खोप स्वीकृतिका लागि सरकारले बेलायती नियामक निकाय मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)सँग आग्रह गरिसकेको छ । गत साता बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा खोप उपलब्ध गराउन एमएचआरएलाई भनिसकेको बताएका थिए । यद्यपि उक्त निकायले कहिलेसम्म अनुमति दिन्छ निश्चित छैन । बेलायत सरकारले फाइजर र बायोएनटेकको ४ करोड डोज, अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।
 
उक्त खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।
 
दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।
 
बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।