मन्त्री त्रिपाठीद्वारा स्थानीय पूर्वाधार साझेदारी बजेट बाँडफाँट
-रासस
मंसिर २१,२०७७ काडमाडौं ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका-४, ५, ६ र ७ पर्दछन् ।
सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आव २०७७/७८ का लागि प्राप्त रु चार करोड बजेट आफ्नो क्षेत्रका विभिन्न योजनामा बाँडफाँट गरेका हुन् । सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा योजना सञ्चालन गर्न पठाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत यो क्षेत्रमा २० योजना छनोट गरिएको छ । छनोट गरिएका योजनामा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
मन्त्री त्रिपाठीका अनुसार शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता बर्दघाटका लागि रु ५० लाख विनियोजन गरिएको छ भने बर्दघाटकै गैडहवा-भगजोगनी पुल निर्माणका लागि रु ३५ लाख विनियोजन गरिएको छ । भगजोगनीमा सामुदायिक भवन निर्माण, दाउन्नेदेवी क्याम्पसमा सटर निर्माण र सुस्ता गाउँपालिका–४ रामजानकी मन्दिरमा सामुदायिक भवन निर्माणका लागि रु २५/२५ लाख छुट्याइएको छ ।
प्रतापपुर स्वास्थ्यचौकी प्रतापपुर, कुडिया स्वास्थ्यचौकी सुस्ता, पञ्चनगर महिला कल्याण कृषि सहकारी बर्दघाट, सरावल-४ हात्तीवन सामुदायिक भवन निर्माण, सरावलकै मङ्गलपुरमा सामुदायिक भवन निर्माण, दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारीका लागि रु २०/२० लाख विनियोजन गरिएको छ ।
प्रतापपुर-५ स्थित बैदौली पुल धर्मशालाका लागि रु १९ लाख ४० हजार तथा सरावल-६ स्थित पुसौलीको अधुरो सडक निर्माण र सरावल-४ को कोटहीमाई दुर्गा मन्दिरमा उद्यान निर्माणका लागि रु १५/१५ लाख विनियोजन गरिएको छ । प्रतापपुर-३ स्थित आमासमूह अमहवाको अधुरो भवन निर्माण, प्रतापपुर-२ गोपीगञ्जस्थित प्रगतिशील महिला समूह, बर्दघाट–१६ सूर्यनगरस्थित बौद्धगुम्बा, बर्दघाटको लघुनाहामा दलित महिला भवन निर्माणका लागि रु १०/१० लाख विनियोजन गरिएको छ । संसारकोट मन्दिर तथा अधुरो महिला भवन निर्माणका लागि रु सात लाख विनियोजन गरिएको मन्त्री त्रिपाठीले जानकारी दिए ।