Trending :
 

कास्की निर्वाचन क्षेत्र नं १ मा आठ करोड बराबरका ७७ योजना सार्वजनिक

मंसिर २२,२०७७

-रासस

मंसिर २२,२०७७ काठमाडौं ।
कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम एवं प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रम २०७७\०७८ अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरिएको छ ।
 
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी तथा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र दीपक कोइरालाले रु आठ करोड बराबरका ७७ योजना संयुक्तरुपमा सार्वजनिक गरेका छन् ।
 
निर्वाचन क्षेत्रअन्तर्गत रुपा गाउँपालिकामा छ योजनामा रु एक करोड २० लाख, मादी गाउँपालिकाका नौ  योजनामा रु एक करोड २५ लाख र पोखरा महानगरपालिकाका १०  वडामा रु एक करोड ५५ लाख विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य अधिकारीले जानकारी दिए ।
 
योजनाअन्तर्गत रुपा गाउँपालिकास्थित रामकोट(रामदी सडकमा रु ५२ लाख, मज्ञ्याङकोट–माउडाँडा सडकमा रु ३० लाख, मादी गाउँपालिका गोर्जे सामुदायिक भवनमा रु २० लाख, कदममार्ग सडक खानेपानी योजनामा रु २५ लाख र पोखरा-२८ स्थित डुडखोला पुलमा रु २५ लाख राखिएको छ ।  
 
त्यसैगरी पोखरा-२७ तालचोक कृषिउपज सङ्कलन तथा बिक्री केन्द्रमा रु २५ लाख, शिवचण्डी मोटर बाटो रुपामा रु २५ लाख, रुपा गाउँपालिका डेरी तथा कृषिउपज सङ्कलन केन्द्रमा रु २० लाखलगायत योजना छनोट गरिएको छ । 
 
योजना सार्वजनिक गर्दै सांसद अधिकारीले सबैको साथ र सहयोगबाट गुणस्तरीय तथा समयमा विकासनिर्माणका योजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।
 
प्रदेशसभा सदस्य गुरुङ र कोइरालाले सडक, खानेपानीसंँगै  उत्पादनमा जोड दिने गरी योजना छनोट गरिएको जानकारी दिँदै पुस महिनाभित्र योजना सम्झौता गरिनुपर्नेमा जोड दिए ।
 
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले विकासनिर्माणको अनुगमनलाई प्रभावकारी बनाइँदै आएको बताउँदै यसमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।