Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

७५५ अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न पुटिनको आदेश

श्रावण १७,२०७४

-एजेन्सी

१७ श्रावण/मस्को- अमेरिकी प्रतिबन्धको जवाफी कारबाहीस्वरूप रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ अमेरिकी कूटनीतिज्ञलाई रुस छाड्न आदेश दिएका छन् । उनले तत्काल दुई देशबीचको सम्बन्ध सुधारको सम्भावना नदेखिएको भन्दै अमेरिकी कूटनीतिज्ञलाई देशनिकालाको निर्णय गरेका छन् । अमेरिकी कूटनीतिज्ञलाई आगामी सेप्टेम्बरसम्ममा उनीहरूलाई देश छाड्न भनिएको छ । अब आगामी सेप्टेम्बरपछि रुसमा अमेरिकी कर्मचारीको संख्या वासिंगटनको बराबरी ४ सय ५५ हुनेछ । यो विश्वका आधुनिक इतिहासमा नै एकैपटक कुनै देशका कूटनीतिज्ञलाई एकैपटक निष्कासन गरिएको पहिलो घटना भएको बताइएको छ । अमेरिकाले भने यो कदमलाई अफसोसजनक भएको टिप्पणी गरेको छ । पुटिनले भनेका छन्, ‘१ हजारभन्दा बढी मानिसले अहिले पनि काम गरिरहेका छन् । तर अब ७ सय ५५ जनालाई रुसमा आफ्ना गतिविधि गर्न रोकिनेछ ।’ गत वर्षको डिसेम्बरमा मात्रै अमेरिकी तत्कालीन राष्ट्रपति बाराक ओबामाले ३५ जना रुसी कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश दिएका थिए । ह्वाइट हाउसको आपत्तिका बाबजुद अमेरिकी संसद्ले हालै रुसमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प रुससँग नरम देखिँदै आएको भए पनि कंग्रेसले रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि उनी अप्ठ्यारोमा परेका छन् । गत वर्ष भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले ट्रम्पलाई जिताउन हस्तक्षेप गरेको विषयमा अमेरिकामा छानबिन भइरहेको छ ।