Trending :
 

बहराइनमा चीनले बनाएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति

मंसिर २९,२०७७

-

मंसिर २९,२०७७ काठमाडौं ।
बहराइनले चीनले बनाएको कोरोनाभाइरसविरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ ।  चाइना नेसनल फर्मास्युटिकल ग्रुप९सिनोफार्म० ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्‍वान गरेको छ ।
 
आइतबार बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण (एनएचआरए) ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो । एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्नेचाहिँ खुलाएको छैन । तर तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ ।
 
बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका नागरिकले कोरोना खोप लगाउन दर्ता गर्न सक्ने बताएको छ । बहराइनले नागरिकलाई कोरोना खोप निस्शुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
 
यसअघि यूएईमा गरिएको परीक्षणमा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता ८६ प्रतिशत देखिएको बताइएको थियो । यूएईले १२५ देशका करिब ३१ हजार व्यक्ति उक्त खोपको परीक्षणमा सहभागी भएका थिए । 
 
गत महिना सिनोफार्मले करिब १० लाख मानिसले आफूले बनाएको कोरोना खोपको आपत्कालीन रुपमा लगाएको बताएको थियो । उक्त खोपको परीक्षण अर्जेन्टिना र मोरक्कोमा समेत भएको बताइएको छ । पेरुले भने सहभागी व्यक्तिमा साइड इफेक्ट देखिएको उल्लेख गर्दै सिनोफार्मको कोरोना खोपको परीक्षण रोकेको छ ।