Trending :
 

९ जनाको हत्या अभियोगमा जापानका ‘ट्विटर किलर’ लाई मृत्युदण्डको सजाय

मंसिर ३०,२०७७

-

मंसिर ३०,२०७७ काठमाडौं।
जापानको एक अदालतले ‘ट्विटर किलर’ को नामले चिनिएका ताकाहिरो शिराइसीलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ ।
 
ट्विटरबाट सम्पर्क गरी ९ जनाको हत्या गरेको आरोपमा सन् २०१७ मा पक्राउ परेका ३० वर्षीय शिराइसोलाई मंगलबार टोक्यो जिल्ला अदालतको ताचिकावा इजलासले मृत्युदण्डको सजाय सुनाएको हो । न्यायाधीश नोकुनी यानाले ९ जनाको हत्याका लागि शिराइसी नै दोषी देखिएको फैसलामा सुनाएका छन् ।
 
फ्ल्याटमा ९ जनाको शवको टुक्रा भेटिएपछि शिराइसीलाई पक्राउ गरिएको थियो । हत्या हुनेमा ८ जना महिला र एक जना पुरुष रहेको जापानी समाचार संस्था क्योदोले जनाएको छ । जसमध्ये एक जनाको उमेर १५ वर्ष रहेको बताइएको छ ।
 
शिराइसीमाथि सन् २०१७ को अगस्टदेखि अक्टोबरसम्म १५ देखि २६ वर्षका ९ जना व्यक्तिको घाँटी रेटेर हत्या गरेको अभियोग लागेको छ । साथै ८ जना महिलामाथि उनले यौन उत्पीडन गरेको पनि आरोप लागेको छ । शिराइसीले अक्टोबरमा आफूमाथि लागेको ‘सबै आरोप सही’ भएको स्वीकार गरेका थिए ।
 
यसअघि उनको तर्फबाट वकालत गरेका वकिलले अदालतसमक्ष सजाय कम गर्न अनुरोध गरेका थिए । पीडितहरुले आत्महत्या गरेको र आफ्नो मृत्युका लागि उनीहरुले सहमति दिएको शिराइसीका वकिलले दलिल पेस गरेका थिए । 
 
तर अदालतले भने उक्त दलिललाई खारेज गर्दै ९ जनाको हत्यामा शिराइसीलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।