Trending :
 

चिनियाँ यानले चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्कियो

पौष ०२,२०७७

-

पुस २,२०७७ काठमाडौं ।
चिनियाँ चन्द्रयान चाङ ई-५ चन्द्रमाको सतहबाट ढुंगामाटोको नमुना लिएर पृथ्वीमा फर्किएको छ । अमेरिकाको अपोलो र तत्कालीन सोभियत संघको लूना चन्द्रयानपछि पहिलोपल्ट चिनियाँ चन्द्रयानले चन्द्रमाको सतहको नमुना लिएर फर्किएको हो ।
 
नमुनाको अध्ययनबाट पृथ्वीको उपग्रहको सतह र उसको अतीतका बारेमा विभिन्न जानकारी हासिल हुने वैज्ञानिकहरुको दाबी छ ।
 
स्थानीय समयअनुसार बिहीबार बिहान एक बजेर ५९ मिनेट जाँदा इनर मंगोलिया स्वायत्त क्षेत्रको सिचिवाङमा चाङ ई-५ को सुरक्षित अवतरण गराइएको थियो । अन्तरिक्षमा लगातार आफ्नो क्षमता वृद्धि गरिरहेको चीनको यो मिसनलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । पछिल्ला सात वर्षमा चीनको तीन वटा चन्द्र मिसन सफल भएका छन् ।
 
गत नोभेम्बरको अन्त्यमा चीनले चाङ ई-५ चन्द्रयान चन्द्रमामा पठाएको थियो । उक्त यानले चन्द्रमाबाट कति नमुना संकलन गरेर ल्यायो भन्ने यकिन नखुलाइए पनि २ देखि ४ किलोसम्म हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । 
 
अपालो र लुना चन्द्रयानले चन्द्रमाको सतहको करिब ४ सय किलो नमुना संकलन गरेका थिए । चन्द्रमाबाट ल्याइएका नमुना धेरै पुराना भएको बताइएको छ । यी नमुना करिब तीन अर्ब वर्ष पुरानो हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । चिनियाँ चन्द्रयानले ल्याएको नमुना भने यसअघिका भन्दा केही फरक हुन सक्ने बताइएको छ ।
 
चिनियाँ यानले ल्याएको नमुना चन्द्रमाको ज्वालामुखी क्षेत्र ‘मोन्स रुमकेर’ को भएको बताइएको छ । मोन्स रुमकेर क्षेत्रबाट ल्याइएको नमुना १.२ देखि १.३ अर्ब वर्ष पुरानो हुन सक्ने वैज्ञानिकको अनुमान छ । यस नमुनाको अध्ययनबाट वैज्ञानिकहरुलाई सटिक ढंगबाट ‘क्रोनोमिटर’ तयार गर्न सघाउ पुग्ने छ । जसको सहयोगले सौर्यमण्डल र ग्रहको सतह कति पुरानो हो भनेर पत्ता लगाइन्छ ।