अन्तराष्ट्रिय प्रसङ्ग
श्रावण १८,२०७४
-एजेन्सी
१८ श्रावण/ कराकस-
भेनेजुएलामा आइतबार भएको नेसनल एसेम्बलीको निर्वाचनलगत्तै त्यहाँको राजनीतिक संकट झनै गहिरिने देखिएको छ ।
सो निर्वाचनमा त्यहाँका राष्ट्रपति निकोलास मादुरोको पार्टीले जित हासिल गरेको थियो । निर्वाचन परिणाम सार्वजनिक भएसँगै त्यहाँ पिपक्षी दलहरूले प्रदर्शनको तयारी गरिरहेका बेला मुख्य विपक्षी दलका नेता लियोपोल्डो लोपेज र एन्टोनियो लेडेज्मा पुनः पक्राउ परेका हुन् ।
उनीहरू यसअघि सरकारविरोधी प्रदर्शनका क्रममा सन् २०१४ मा प्रक्राउ परी नजरबन्दमा रहेका थिए । पक्राउ परेका विपक्षी नेताहरूलाई कुन स्थानमा राखिएको छ भन्ने बारेमा कुनै जानकारी प्राप्त नभएको उनीहरूको परिवारले जनाएको छ । आइतबार हिंसात्मक माहोलका बीच भएको निर्वाचनको परिणामलगत्तै उनीहरू पक्राउ परेका हुन् । निर्वाचनका बेला भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागी १० जनाको मृत्यु भएको थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले सरकारविरोधी प्रदर्शन चर्किएका बेला गत मे १ मा नयाँ संविधान लेखनका लागि संविधान सभाको चुनाव गराउने घोषणा गरेका थिए । नयाँ संविधानका माध्यमबाट भेनेजुएलामा ध्रुवीकृत रहेको समाजलाई पुनः एकढिक्का बनाएर लैजाने वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्दै आएका छन् । तर विपक्षी पार्टीहरूले भने नयाँ संविधानका माध्यमबाट राष्ट्रपतिले आफ्ना अधिकारलाई बढाउने र विपक्षीको बाहुल्यता रहेको विधायिकालाई कमजोर बनाउने कसरत गरेको आरोप लगाएका छन् । उनीहरूले हालै भएको निर्वाचनलाई बहिष्कार गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । यो निर्वाचन परिणामलाई अमेरिका, युरोपियन युनियन र ल्याटिन अमेरिकी केही देशका नेताले समेत आलोचना गरेका छन् ।
निर्वाचनका दिन भएको हताहती पछिल्लो समयमा भएका प्रदर्शनका क्रममा एकै दिन भएको सबैभन्दा धेरै विपक्षी कार्यकर्ता मारिएको दिन हो । पश्चिमा राष्ट्रको समर्थनप्राप्त विपक्षी पार्टीले राष्ट्रपति मादुरोको राजीनामा र राष्ट्रपतीय निर्वाचनको माग गर्दै आएका छन् । पक्राउ परेका विपक्षी नेता लोपेजकी श्रीमतीले ट्वीटरमा आफ्ना श्रीमान् साढे १२ बजेको समयमा घरबाट पक्राउ परेको जानकारी दिएकी छन् । लोपेजकी श्रीमती लिलियन टिनटोरीले आफ्ना श्रीमान्लाई केही भएमा त्यसको जिम्मेवार राष्ट्रपति मादुरो हुने चेतावनी दिएकी छन् । यसैगरी पक्राउ परेका अर्का मुख्य विपक्षी नेता लेडेज्माकी छोरी भानेस्साले समेत आफ्ना बाबु रिहाइको माग गरेकी छन् ।
भेनेजुएलाका निर्वाचन अधिकारीले निर्वाचनमा जम्मा ४१ दशमलव ५ प्रतिशत मतदान भएको जानकारी गराएका थिए । विपक्षीले भने ८८ प्रतिशतले मतदान बहिष्कार गरेको दाबी गरेका छन् । भेनेजुएलाको मुख्य विपक्षी दलले निर्वाचनको नतिजा अस्वीकार गर्दै थप विरोध प्रदर्शनका लागि आह्वान पनि गरेको थियो । राष्ट्रपति मादुरोले यो मतदानलाई प्रजातन्त्रको उदाहरण भएको बताउँदै विपक्षीले उनीमाथि धाँधली गरेको र मतदातालाई डर देखाएको आरोप लगाएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार