Trending :
 

बेलायतमा कोरोना भाइरसविरुद्ध आपतकालीन रक्षा गर्न सक्ने औषधीको विकास

पौष १२,२०७७

-

पुस १२,२०७७ काठमाडौं ।
बेलायतका वैज्ञानिकहरूले कोभिड-१९ बाट आपतकालीन रक्षा गर्न सक्ने एउटा औषधि विकास गरिएको बताएका छन् ।
 
यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ ।
 
बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस संक्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भएका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ ।
 
संक्रमित बिरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ ।
 
यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा उक्त औषधिका मात्रा दिइएको छ ।
 
यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले जनाएका छन् ।
 
प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नहुने वा नभ्याइएका जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ ।
 
साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ ।
 
कोरोनाभाइरसको सम्पर्कमा आएमा व्यक्तिलाई तत्काल खोप दिएर यसले काम गर्न केही साता लाग्ने तर यो औषधिले अपेक्षाकृत सफलता पाएमा उनीहरूका लागि यो वरदान बन्नेमा विज्ञहरूले आशा देखाएका छन् । एजेन्सी