Trending :
 

वुहानमा कोरोना महामारीबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई चार वर्षको जेल सजाय

पौष १३,२०७७

-

पुस १३,२०७७ काठमाडौं ।
 
कोरोना भाइरसको उद्गमस्थल मानिने चिनको वुहानमा कोरोना भाइरसको महामारीबारे समाचार लेख्ने एक पत्रकारलाई चीनले चार वर्षको जेल सजायको फैसला गरेको छ ।
 
चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई स्थानीय अदालतले दोषी ठहर गरी सोमबार चार वर्ष जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
 
उनलाई मे मा प्रहरीले दोषी मान्दै नियन्त्रणमा लिएको थियो । ३७ वर्षीय उनी केही महिना भोकहड्तालमा पनि बसेकी थिइन् । वकिलले उनको स्वास्थ्य अवस्था कमजोर रहेको बताएका छन् ।
 
उनले कोरोनाको उद्गमस्थल मानिएको वुहानबारे खबर लेखेकी थिइन् । वुहानबारे खबर लेखेकै कारण उनीसहित अन्यलाई पनि चीनले निशाना बनाएको छ ।
 
उनी गत फेब्रुअरीमा महामारीबारे रिपोर्टिङ्गका लागि वुहान गएकी थिइन् । उनले त्यहाँबाट महामारीबारे रिपोर्टिङ्ग गर्ने गरेकी थिइन् ।
 
उनका रिपोर्टले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा पनि चासो पाएपछि उनी चिनियाँ अधिकारीको चासोमा थिइन् ।
 
अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मे १४ मा वुहानबाट हराएकी थिइन् । पछि उनलाई सांघाई प्रहरीले पक्राउ गरेको खुलासा भएको थियो ।
 
उनीमाथि गएको वर्षको नोभेम्बरमा लेख, भिडियोसहितका माध्यमबाट गलत समाचार फैलाएको भन्दै आरोप लगाइएको थियो । साथै उनलाई विदेशी सञ्चारमाध्मयलाई अन्तर्वार्ता दिएकोप्रति पनि प्रश्न गरिएको थियो ।
 
प्रहरीले उनलाई पाँच वर्षको जेल सजाय माग गरेको थियो । अदालतले भने चार वर्षको सजाय सुनाएको हो ।