पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउन लागेपछि निगमलाई साढे एक अर्ब बचत

पौष १६,२०७७

-रासस

पुस १६,२०७७ काठमाडौं ।
नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । 
 
उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो । 
 
इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
 
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ । 
 
पाँच वर्षदेखि नाफामा
 
लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि ९पाँच वर्ष यता० नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/०७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/०७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ । 
 
निगमले आर्थिक वर्ष २०७५/७६ मा रु २९ करोड रहेको चुक्ता पूँजीलाई रु दश अर्ब पूँजी वृद्धि गरेर रु एघार अर्ब पु¥याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ ।