Trending :
 

भारतमा ३ करोड नागरिकलाई पहिलो चरणको निःशुल्क कोरोना खोप दिइने

पौष १९,२०७७

-

पुस १९,२०७७ काठमाडौं ।
 
भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाएको छ । भारतका स्वास्थ्यमन्त्री डा। हर्ष बर्धनले शनिबार राजधानी नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरूलाई खोप लगाउने बताएका हुन् ।
 
 
‘पहिलो चरणमा कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी र अग्रमोर्चामा खटिएकालाई निःशुल्क दिइनेछ । बाँकीलाई कसरी खोप लगाउने भन्ने टुंगो लाग्न बाँकी छ,’ डा. बर्धनले भनेका छन् । मन्त्री बर्धनले खोप प्रयोगका लागि अनुमति दिन तोकिएको मापदण्ड पूरा गरिने भएकाले सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।
 
भारत सरकारले यसअघि नै आगामी जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारिएको छ । खोप अभियानका लागि करिब १ लाख जनालाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।
 
उत्पादनस्थलदेखि पहिलो चरणमा खोप लगाइने केन्द्रसम्म खोपलाई चाँडोभन्दा चाँडो पुर्‍याउन कार्गो जहाजदेखि भ्यानसम्म तयारी अवस्थामा राखिएको छ । त्यसका लागि वितरणदेखि खोप लगाउनेसम्मको पूर्वतयारी पूरा भइसकेको जनाइएको छ ।