अमेरिकामा ट्रम्प समर्थकको हिंस्रक प्रदर्शनः गोली लागेर महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

पौष २३,२०७७



पुस २३, २०७७ काठमाडौं ।
 
अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ । 
यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो । 
 
क्यापिटलभित्र उपस्थित संवाददाताका अनुसार जब सुरक्षाबलका प्रमुखले यसबारे जानकारी दिए तब सांसदले ताली बजाएका थिए । 
 
डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो । 
 
सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे ।  यसका कारण बहस बीचमा नै रोक्नुपर्यो ।
 
डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो । 
 
स्थिती अनियन्त्रित भएपछि नेशनल गार्डलाई क्यापिटल पठाइयो । 
 
रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् । 
 
जो बाइडेनले भने, ‘यो विद्रोह हो’
 
अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले विलमिंगटन, डेलावेयरबाट देशलाई सम्बोधन गरे र ट्रम्प समर्थकलाई भीडबाट पछि हट्न र लोकतन्त्रको कामलाई अघि बढ्न दिन आह्वान गरे । 
 
उनले भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढ्नुहोस् र टिभीमा गएर यो घेराबन्दीलाई समाप्त गर्न माग गर्नुहोस् । अति नै भयो ।’
 
सम्बोधनपछि जो बाइडेनले ट्वीट गर्दै डोनल्ड ट्रम्पलाई आफ्ना समर्थकलाई हट्न अपिल गरिदिन माग गरे ।