मन्दिरको भेटी मात्रै महिनामा साढे पाँच लाख बढि सङ्कलन

पौष २३,२०७७

-रासस

पुस २३,२०७७ काठमाडौं ।
मन्दिर खुलेको महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल खोटाङको हलेसी मन्दिरमा साँढे पाँच लाख रूपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।
 
कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर  आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४ हजार २९० भेटी सङ्कलन भएको हो ।
 
गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने  गत मङ्सीर १६ गते खुला गरिएको थियो ।
 
हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी सङ्कलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।
 
हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट रु तीन लाख ३० हजार ५९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट रु २९ हजार ६३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट रु १४ हजार ७० भेटी सङ्कलन भएको छ ।
 
गत चैत ६ गतेदेखि पुस ८ गतेकाबीचमा मन्दिरको प्राङ्गणमा राखिएको दान पेटिकामा रु एक लाख ८९ हजार ९९० भेटी सङ्कलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।
 
दर्शनार्थी तथा भक्तजनले भारु ६५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन् । यस्तै, १०६।५० ग्राम चाँदी र १।३ ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ ।
 
त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गत वर्ष  रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकमसहित सुन ११।५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।
 
हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिए ।
 
हलेसीमा स्वदेशसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत्लगायतबाट दर्शनार्थी  आउने गरेका छन् ।