ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुग्यो, वासिङ्टनमा १५ दिन संकटकाल

पौष २३,२०७७

-

पुस २३,२०७७ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको हो ।
 
बाँकी ३ जनाको मेडिकल इमरेजन्सीका कारण मृत्यु भएको डीसी महानगरीय प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन् ।
 
प्रहरीका अनुसार अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये ४७ जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो ।
 
वासिङ्टनमा १५ दिन संकटकाल
 
ट्रम्प समर्थकले गत नोभेम्बरमा भएको चुनाव रद्दको माग गर्दै सुरु गरेको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि वासिङ्टनमा १५ दिन संकटकाल लगाइएको छ । जनवरी २० जो बाइडेनले राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । त्यसको एक दिन पछिसम्म संकटकाल लगाइएको हो । 
 
त्यहाँको पछिल्लो अवस्थाबारे वासिङ्टनकी मेयर म्युरियल बोउसरले भनिन्, ‘धेरै मानिस हतियारसहित बाहिर निस्किएका छन् । उनीहरुले हिंसा भड्काउनुका साथै तोडफोड गरिरहेका छन् । उनीहरुले रसायन फ्याँकिरहेका छन्, इँटा, बोतल हान्ने र बन्दुक बोकेर प्रदर्शन गरिरहेका छन् । उनीहरुको हिंसात्मक क्रियाकलाप अहिले पनि जारी छ ।’
 
यतिबेला अमेरिकी संसद्‍मा बाइडेनको जितलाई प्रमाणित गर्ने काम भइरहेको छ । सदनमा इलेक्टोरल भोटको गन्ती भइरहँदा एक्कासि क्यापिटल हिल्समा भीडले आक्रमण गरेको थियो । बीचमा रोकिएको मतगणना अहिले भने जारी रहेको छ । 
 
अहिलेसम्म बाइडेनको पक्षमा आएको २४४ इलेक्टोरल भोट गन्ती भएको छ भने ट्रम्पको पक्षमा १५७ भोट । गत नोभेम्बरमा भएको चुनावमा डेमोक्रेटिक उम्मेदवार बाइडेनले ३०६ इलेक्टोरल भोट ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले २३२ इलेक्टोरल भोट मात्रै प्राप्त गरेका थिए ।
 
यसैबीच पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर देखिएको असन्तुष्टि अमेरिकी सिनेटले खारेज गरिदिएको छ । पेन्सिलभेनियामा बाइडेनको जितमा असन्तुष्टि जनाइएकोमा सिनेटले ९२–७ को बहुमतले त्यसलाई खारेज गरिदिएको हो । सिनेट नेता मिच म्याककोनेलले यस मुद्दामा बहस नै बन्द गरिदिएका हुन् ।