ट्रम्पलाई तत्काल राष्ट्रपतिबाट हटाउन सत्तारुढ पार्टीकै सांसद् र मन्त्रीहरुको माग

पौष २३,२०७७

-

पुस २३,२०७७ काठमाडौं ।
अमेरिकी संसद् भवनमा हुुलदङ्गा र हिंसात्मक प्रदर्शन भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्कालै पदबाट हटाउनुपर्ने माग केही सत्तारुढ सांसद् र मन्त्रीहरुले गरेका छन् । ट्रम्पको कार्यकाल सकिन केवल १४ दिन बाँकी छ । २० जनवरीमा जो बाइडेनले नयाँ राष्ट्रपतिका रुपमा सपथ लिनेछन् । 
 
यस्तोमा उनी हट्नसक्ने दुुई प्रावधान छन् । एक, संसद्बाट महाभियोग पारित र अर्को, संविधानको २५ औं संशोधनको प्रावधान अनुरुप उपराष्ट्रपति र क्याबिनेट सदस्यद्धारा पदमुक्त गर्ने कार्य । महाभियोग प्रस्ताव अघि बढेर पारित भएमा उनी अर्को कार्यकाल फेरि निर्वाचन लड्न पाउने छैनन् ।
 
गत नोभेम्बरमा सम्पन्न निर्वाचनको मतपरिणामलाई  निरन्तर अस्वीकार गर्दै आएका ट्रम्पले बुधबार प्रदर्शनकारीहरुलाई संसद् भवन घेर्न आग्रह गरेका थिए । उनको आग्रहपछि संसद् भवन पुुगेका प्रदर्शनकारीहरुले भवनभित्रै छिरेर वितण्डा मच्चाए । यसक्रममा एक प्रदर्शनकारीको संसद् भवनमै गोली लागेर मृत्यु भयो । बुधबारै वासिङटनमा प्रदर्शनका क्रममा अन्य तीन जनाको मृत्यु भयो । 
 
‘उनलाई महाभियोग लगाएर हटाउनुपर्छ,’ रिपब्लिकन पार्टीका एक नवनिर्वाचित सांसद्लाई उदृत गर्दै सिएनएनले लेखेको छ, ‘मलाई लाग्छ अमेरिकी प्रणालीका लागि यो कदम निकै घातक छ । यस्तो कार्यपछि पनि हामी उनलाई दुुई सातासम्म पदमै कसरी राखिरहन सक्छौं रु’
 
अर्कोतर्फ, अमेरिकी संविधानको २५ औं संशोधनमा उपराष्ट्रपति र क्याबिनेटका सदस्यहरुले मिलेर राष्ट्रपतिलाई हटाउनसक्ने प्रावधान छ । राष्ट्रपति कोमामा पुुगेको वा काम गर्न अक्षम रहेका बेला आपतकालीन रुपमा लागू गर्नका लागि यस्तो संशोधन गरिएको थियो । 
 
यो संविधानको यो प्रावधान आकर्षित हुनका लागि उपराष्ट्रपति माइक पेन्स र क्याविनेटका अधिकांश सदस्य सहमत हुनुपर्छ । यस्तो कदमलाई अहिलेसम्म अनपेक्षित नै ठानिएको छ, यद्यपी ट्रम्पको असक्षमतालाई कारण देखाएर यस प्रावधान लागू गर्ने विषयमा क्याविनेट सदस्यहरु नै प्रारम्भिक छलफलमा रहेको रिपब्किलन पार्टी निकट स्रोतले सिएनएनलाई बताएको छ ।