राष्ट्रपति ट्रम्पलाई तत्काल कार्यालय छोड्न सभामुख नेन्सीको चेतावनी

पौष २५,२०७७

-

पुस २५,२०७७ काठमाडौं ।
अमेरिकाकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई तत्काल कार्यालय छोड्न भनेकी छिन् । साथै उनले ट्रम्पले स्वेच्छाले नहटे संसदले यसमाथि कारवाही गर्ने चेतावनी पनि दिएकी छिन् । 
 
यतिबेला उनले राष्ट्रपति निक्सनको कुरा उठाउँदै ५० वर्ष अघि संसदले कुनै राष्ट्रपतिलाई राजीनामा दिन बाध्य बनाएको जिकिर गरिन् । 
 
पेलोसीले भनेकी छिन्, ‘आज राष्ट्रपति डोनल्ड ट्रम्पले ठ्याक्कै त्यस्तै खतरनाक राष्ट्रद्रोहको काम गरेका छन् ।’ 
 
उनले संसदमा रिपब्लिकन सिनेटका सदस्यसँग उक्त उदाहरणको अनुसरण गर्दै ट्रम्पलाई उनको कार्यालयबाट तत्काल बाहिर निस्कन आग्रह गरिदिन अपिलसमेत गरेकी छिन् । 
 
यसैबीच बुधबार भएको हिंसामा घाइते अमेरिकी क्यापिटल प्रहरीका अधिकारी ब्रयान डी सिकसिनको मृत्युमाथि दुःख जताउँदै नेन्सीले उनको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई कानूनी कारवाही गरिने बताएकी छिन् । ब्रायन सिकसिनको मृत्युसँगै यो हिंसामा मृत्यु हुनेको संख्या बढेर पाँच पुगेको छ ।