बंगबन्धु शेख मुजिब ढाका म्याराथनको उपाधि पुष्पा भण्डारीले जितिन

पौष २६,२०७७

-

पुस २६,२०७७ काठमाडौं ।
नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनको उपाधि जितेकी छिन् । विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)की खेलाडी रहेकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ पहिलो स्थान हासिल गरेकी हुन् ।
 
उनले फुल म्याराथनको निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी हुन् । यस क्याटेगोरीमा भारतीय खेलाडी दोस्रो र तेस्रो भए ।
 
महिला म्याराथनमा नेपालको कीर्तिमानी खेलाडी पुष्पाले व्यक्तिगत भने सुधार गर्न सकिनन् । उनले गत वर्ष नेपालमा भएको १३औं सागमा २ घण्टा ५० मिनेट ११ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । १३औं सागमा पुष्पाले रजत जितेकी थिइन् ।
 
पुष्पासँगै नेपालबाट १३औं सागका स्वर्ण विजेता किरणसिंह बोगटीले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनी शीर्ष तीनभित्र पर्न सकेनन् । किरण चौथो भए ।
 
दौडने बेला किरणलाई खुट्टा दुख्ने समस्या भएकोले राम्रोसँग दौडने नसकेको र चौथो स्थानमा सीमित भएको प्रशिक्षक धनीराम चौधरीले ढाकाबाट जानकारी दिए ।
 
दुवै खेलाडी व्यक्तिगत टाइमिङमा सुधार गर्ने लक्ष्यसहित ढाका पुगेका थिए । टाइमिङ निकाल्न नसकेपनि पुष्पाले स्वर्ण जित्दा किरण भने सफल हुन सकेनन् ।
 
ढाकामा मौसम केही फरक भएकोले पनि नेपाली खेलाडीलाई केही असहज उनले बताए ।