पूर्वराजा ज्ञानेन्द्र शाहले भने-जनचाहना अनुसार अगाडि बढ्न तयार छु, जनताले नेपाली राजनीति बुझ्नुभयोहोला

पौष २६,२०७७

-

पुस २६,२०७७ काठमाडौं । 
पूर्वराजा ज्ञानेन्द्र शाहले जनचाहनाअनुसार अगाडि बढ्न आफू तयार रहेको बताउनुभएको छ ।
 
पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य स्मरण गराउँदै जनचाहनाको कदर गर्ने बताउनुभएको हो ।
 
सडकबाट ‘राजा आउ देश बचाउ’ को नारा घन्किरहेका बेलामा पूर्वराजाले दिएको यो सन्देशले विशेष अर्थ बोकेको बुझ्न सकिन्छ ।
 
पूर्वराजाको सन्देशमा अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरिएको छ ।
 
पूर्वराजाले देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी देखाएको पनि दर्शाउनु भएको छ ।
 
नेताहरु विदेशीको इशारामा चलेकोतर्फ सावधान गराउँदै पूर्वराजाको सन्देशमा, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो ।
 
तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ ।’ भन्नुभएको छ ।
 
परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको पनि पूर्वराजा शाहको सन्देशमा उल्लेख गरिएको छ ।
 
राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्नेमा पूर्वराजाको सन्देशमा यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहनेछ भनिएको छ ।
 
पृथ्वी जयन्तीको सार्थकता पनि रहने आफूहरुको मान्यता रहेको जनाइएको छ ।
 
सन्देशमा ‘नेपाली भनेका नेपाली नै हुन् कुनै अर्को जलप लगाएर हुँदैन’ भन्दै पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरेको स्मरण गर्दै वर्तमान समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा रहेको समेत बताउनु भएको छ ।
 
पूर्वराजाले पृथ्वीनारायणको देव्योपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको पनि उल्लेख गर्नुभएको छ ।